झापा , फागुन १६ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा ८ दलले सोमवार आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव परेन ।

बन्द गराउन खोज्ने तीनजना बन्दकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता अर्जुनधारा ५ का राजकुमार बस्नेत , नेकपा क्रान्तिकारी माओवादी वैद्य समूहका बिर्तामोड ४ का बालकृष्ण बुढाथोकी र मेचीनगर १२ का रविन लिम्बू रहेका छन् । उनीहरुलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा बन्दको खासै असर नपरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बन्द आह्वान गरेका ८ दलका कार्यकर्ताले नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् । सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए । संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो ।

सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।

हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्