झापा , फागुन १७ । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ ।


पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भीड छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ ।
पशुपति क्षेत्र विकास कोषले आज ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने अनुमान गरेको छ । भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताए ।

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताए ।

यस्तै, आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । त्यसका लागि पाँच वटा लाइनको व्यवस्था मिलाइएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीमा रहेको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार लाइनको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए ।

यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । तर, यो मापदण्ड पालनामा भने चुनौती देखिएको छ। कोषका कोषाध्यक्ष तथा शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीका अनुसार भक्तजनको सुरक्षाका पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिएका छन् ।

यस्तै, मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिँदै छ । यस्तै, गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्