पथरीशनिश्चरे ,फागुन १७ । मोरङको सुनबर्षी –२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकपको सेमिफाइनलमा बुद्धभूमि भेट्रान्स क्लब रूपन्देही प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा रूपन्देही र आयोजक अमरदह ढल्केजोवन युवा क्लबले निर्धारित समयमा १–१ गोल गरी बराबरी भएपछि टाइब्रेकरको सहारा लिनु परेको थियो ।

प्रतियोगिताको पूर्वाद्धको २ मिनेटमै बुद्धभूमि भेट्रान्स क्लबका जर्सी नं १० का टंक लामाले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने आयोजक अमरदह ढल्केजोवन युवा क्लबका जर्सी नं १५ का भोला सिलवालले मध्यान्तरपछिको १६ मिनेटमा १ गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।
त्यसपछिको टाईब्रेकरमा बुद्धभूमि भेट्रान्स, रूपन्देहीले अमरदह ढल्केजोवन युवा क्लबलाई ३ का विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक अमरदह ढल्केजोवन युवा क्लबका खेलाडीहरूले पटक–पटक गोल गर्ने अवसरहरू गुमाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच रूपन्देहीका जर्सी नं १का गोलरक्षक राकेश गुरुङ भए । उनलाई प्रमुख अतिथि रहेका सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम घिमिरेले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
बुधबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र विराट मेघा स्पोर्टस क्लब मोरङबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्