शालिकराम भट्टराई,
झापा , फागुन १८ । सामाजिक संस्था छाडेर च्याउ खेतीमा आकर्षित भएका कचनकवल–६ का पदमप्रसाद सिटौला सफल च्याउ उत्पादक किसानको रुपमा स्थापित भएका छन् ।

उनले आफैले स्थापना गरेको एनजीओमा झण्डै १६ जना कर्मचारी राखेर संचालन गरेका थिए । पदमले केही वर्ष स्वास्थ्यसम्बन्धी विषयको एनजीओ सञ्चालन गरेका थिए ।

२०६४ सालमा ‘सामाजिक समस्या निवारण समाज’ नामक गैरसरकारी संस्था आफ्नै पहलमा दर्ता गराई काम गरेको अनुभव छ । विभिन्न १६ जिल्लामा हेपाटाइटिसविरुद्धको अभियानमा काम गरेका उनले गाउँ–ठाउँमै कृषि क्षेत्रमा केही गरेर देखाऔं भन्ने भावनाले प्रेरित भई कृषि उद्यमी बन्न शुरु गरे । यसै सिलसिलामा उनले क्वालिटी च्याउ उद्योग संस्थागत रुपमा दर्ता गराई काम थाले । त्यही उद्योगबाट उनी सफल च्याउ उत्पादक किसानको रुपमा स्थापित भएका हुन् ।

साविक बनियानी–४, हाल कचनकवल–६ विशाल बस्ती बस्ने भक्तिप्रसाद तथा आमा तुलसादेवी सिटौलाका ५ छोरामध्ये कान्छा छोरा पदमप्रसादको जन्म २०४० सालमा भएको थियो ।उनले स्थानीय माध्यमिक विद्यायलबाट विद्यालयस्तरको पढाइ गरे । त्यसपछि अध्ययनको सिलसिलामा काठमाण्डौ गई ब्याचलरसम्मको पढाई सकेका छन् ।

आफ्नै जग्गामा तीन कठ्ठा क्षेत्रफलमा च्याउ उत्पादन शुरु गरेका उनले च्याउ उत्पादनका लागि बनाइएका उत्पादन गृहमा च्याउ फलिरहेको देख्न सकिन्छ । श्रीमती प्रमिला भण्डारी सिटौलाको दरिलो साथ र सहयोगबाट यो उद्योगले गति लिएको हो । च्याउ के कसरी फलाउन सकिन्छ भन्ने विषयमा छरछिमेकी कृषक समेतको चासो बढेकाले धेरैजना कृषकहरु हेर्न आउने गरेका छन् । ‘कहिलेकाँही त निकै भिडभाड हुन्छ’ पदम भन्छन् ।

आफ्नै प्रेरणा प्रगतिपथको खुड्किलो
मेरो आफ्नै योजना नै प्रेरणाको स्रोत हो भनी बताउने पदमले आफ्नो स्वास्थ्यसम्बन्धीको सामाजिक संस्था, चिया प्याकेजिङ उद्योग, गार्मेन्टलगायतका उद्योगबाट राम्रो आम्दानी गरी सहज जीवन गुजारा गरिरहेका थिए । त्यो स्थिति भइरहे तापनि मुलुकमा बढेको बेरोजगारी समस्या, युवाहरुको बिदेश पलायनलाई देखेर पदमलाई गाउँ–ठाउँमा नै केही गरौं भन्ने लाग्यो । अहिले आफ्नै जग्गामा बनाइएका च्याउ उत्पादनका सात वटा गृहमा मासिक ६ हजार पोका च्याउ लगाइरहेका छन् । उनले विगत दुई वर्षदेखि च्याउको उत्पादन र बजार ब्यवस्थापन गर्दै आएका छन् ।

आम्दानी र रोजगारी
आफ्नो कृषि उद्यमलाई आफैंले सम्मानित बनाउनु पर्छ भन्ने बिश्वास राखेका पदमको उद्योगमा ८ जनाले नियमित रोजगारी पाएका छन् । तीव्र रुपमा काम भएको समयमा आंशिक रोजगारी झण्डै १२–१५ जनाले पाउने गरेका छन् । कम समयमा थोरै लगानीबाट बढी आम्दानी लिन सकिने च्याउ भएकोले यस बालीबाट आर्थिक क्रान्ति गर्न सकिने पदमको बिश्वास छ । दोस्रो वर्षमा नै उनले झण्डै ९ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

भावी योजना
‘समग्रमा कुरा गर्दा मासिक ३०–४० हजार रुपैयाँ कमाउन यस च्याउ व्यवसायबाट कुनै समस्या छैन’ उनी गर्वसाथ भन्छन् । न्यून पूँजी भएका मानिसले गर्ने व्यवसाय च्याउ हो । ३० हजार लगानी गरेर ३० हजार नै आम्दानी गर्न सकिन्छ । उनी अन्य ब्यवसायीहरुलाई सल्लाह दिँदै भन्छन् ‘यदि थोरै लगानीबाट राम्रो आम्दानी लिन चाहनुहुन्छ भने क्वालिटी च्याउ उद्योग बनियानीले सधैं तालिम, सल्लाह र च्याउको बीउ समेत उपलब्ध गराउँछ ।’

कृषि उद्यमी पदमसँग अन्य युवा कृषक उद्यमीको टिम छ । यो टिमको पहिलो रोजाई च्याउ खेती रहेको र तरकारीको ब्यावसायिक उत्पादन थाल्न लागेको योजना उनले सुनाए । आगामी दिनमा तरकारी तथा अन्य कृषिजन्य उत्पादन, प्रशोधन र बजारीकरणको
योजनासमेत बनाएको उनले सुनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्