झापा , फागुन १८ । नेपाल-भारत सिमाना छुट्ट्याउन मेची नदी आसपासमा राखिएका एकतिहाइ सीमास्तम्भ आफ्नो नगर क्षेत्रबाट हराएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

मेचीनगरको पूर्वी क्षेत्र भारतसँग लगभग ३२ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा नेपाल-भारत सिमाना छुट्टयाउन राखिएका २२१ सीमास्तम्भमध्ये १४८ वटा मात्र भेटिएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । ७३ सीमास्तम्भहरू हराएको पाइएको जनाउँदै उनले त्यसबारेमा नेपाल सरकारलाई औपचारिक जानकारी गराउने बताए । मेचीनगर नगरपालिकाको पूर्वी भाग भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लासँग जोडिएको छ । मेची नदीलाई सामान्यतया सीमा नदी मानिने गरिए तापनि वास्तविक सीमारेखा छुुट्ट्याउन नदीको आसपासमा सिमेन्टको सीमास्तम्भ गाडिएका छन् । निकट भविष्यमा सीमा सुरक्षा सम्बन्धमा नेपाल र भारतबीच सचिवस्तरीय बैठक हुन लागेका बेला मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रको सीमाको अवस्थाबारे बुझ्न सीमा अनुगमन गरिएको हो । नगरप्रमुख आचार्य , उपप्रमुख मीना उप्रेती, वडाध्यक्षहरू, सशस्त्र प्रहरी, सञ्चारकर्मीसहितको टोलीले गएको सोमबार नगरसँग सीमा जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रको अनुमगन गरेको थियो । भारतीय नाकासँग सीमा जोडिएको मेचीनगरको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन अनुगमन गरिएको नगरप्रमुख आचार्यले बताए । “हाम्रो नगरभित्र सीमामा समस्या छ/छैन अध्ययन गर्न भारतसँगको सीमा क्षेत्रको अवलोकन गरिएको हो,” उनले भने । मेचीनगरका वडा नम्बर-१, ४, ५, ६, ७ र १५ भारतसँग सीमा जोडिएको छ । सो क्षेत्रमा २२१ सीमास्तम्भहरू हुनुपर्नेमा १४८ वटा मात्र रहेको पाइएको हो । तीमध्ये ७३ स्तम्भहरू बाढीले बगाएको र केही पुरिएको अवस्थामा रहेको हुन सक्ने अनुमान छ । कतिपय ठाउँमा सीमास्तम्भ नभएकाले सिमाना छुट्टाउनै कठिन छ । टोलीले नेपाली र भारतीय सुरक्षाकर्मीसँग समेत सीमास्तम्भहरूका बारेमा जानकारी लिएको थियो ।