भद्रपुर, फागुन १८ । भद्रपुर मारवाडी महिला तथा युवती मञ्चले नगरक्षेत्रमा सामाजिक गतिविधिलाई तीव्रता दिएको छ ।

सोही अभियानअन्तर्गत मारवाडी महिला मञ्चले बुधवार भद्रपुर ६ स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । साथै विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा खिचडी समेत खुवाएका थिए । मारवाडी महिला मञ्चकी अध्यक्ष निकी अग्रवालको नेतृत्वमा गएका पदाधिकारीसहितको टोलीले विद्यालयका २२० विद्यार्थीलाई कपी, पेन्सिल, लेजरलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

महिला तथा युवती मञ्चले औँसी, पूर्णिमा र मञ्चमा आबद्ध सदस्यहरूको जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसरमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको मञ्चकी अध्यक्ष अग्रवालले बताइन् । बुधवार औँसी परेकोले विद्यालयलाई शैक्षिक सामग्री र खिचडी वितरण गरेको अग्रवालले बताइन् । गत माघदेखि सुरु गरिएको यस अभियानलाई नगर क्षेत्रभित्र निरन्तरता दिँदै जाने उनले बताइन् । अग्रवालको अध्यक्षता भएको संक्षिप्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कोपिला गौतम, भद्रपुर ६ नम्बर वडा सदस्य प्रकाश शर्मा, भद्रपुर जेसीजका पूर्व अध्यक्ष डिल्ली पोखरेल, पत्रकार पार्थ मण्डललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चकी सचिव प्रिती मित्तलले गरेकी थिइन् ।

त्यस्तै औँसीकै अवसर पारेर मारवाडी महिला तथा युवती मञ्चले भद्रपुर ९ स्थित ग्यालेक्सी इङ्लिस स्कुलमा सात दिने जीवन विज्ञान नवप्रतिभा ध्यान विधि सुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सो ध्यान विधि सुरु गरिएको मञ्चकी सांस्कृतिक सचिव निलम गोयलले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्