दमक , फागुन १८ । मोरङको उर्लाबारीबाट नेकपा एमालेका कार्यकर्ता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा आज साँझ प्रधानसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले जुवाको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । एमाले कार्यकर्ता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको टोलीले जुवाडे पक्राउ गरेको हो ।

पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाध्यक्षमा उठेका थिए । उनी पराजित भएका थिए । प्रधानले तासको खालमा सिसी टिभी पनि जडान गरेको पाइएको छ । ‘घरमा कोही व्यक्ति आउन सक्ने भएकोले त्यसको निगरानी राख्न सिसी टिभी पनि जडान गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले उनको घरमा छापा हान्दा पनि सिसी टिभी खुल्ला रहेको पाइएको थियो ।’ पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्