कनकाई, फागुन १९ । कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको झापाको कनकाई नगरपालिकाले पशु विमालाई व्यवस्थित बनाउन विमा कम्पनीसँग सम्झौता गरेको छ ।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नगर प्रमुख राजेन्द्र पोखरेलको रोहबरमा हिमालयन इन्सोरेन्स कम्पनी बिर्तामोडका प्रतिनिधि र परियोजना अन्तर्गतका प्रतिनिधिबीच कनकाई नगरपालिकामा सम्झौता भएको कनकाई १ का वडाध्यक्ष रोशनराज पोखरेलले जानकारी दिए ।

कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगरक्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याएको कनकाई नगर प्रमुख पोखरेलले बताए । यस कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको नगर प्रमुख पोखरेल बताउँछन् । पशुधनको विकास अनि संरक्षणका लागि यसअघि पनि कनकाई नगरक्षेत्रमा सप्ताहव्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको छ ।

यसैगरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाउने लक्ष्य रहेको नगर उपप्रमुख मन्जु प्रसाईंको भनाइ छ । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्था गर्नका लागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

कनकाईको पशु विमा कार्यक्रमका लागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैयाँ बराबरको प्रिमियम अनुदान व्यवस्थापन गरिएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले बताए । यस आधारमा एउटा पशु चौपायाको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैयाँ मात्र बुझाउनु पर्ने गरी सम्झौता भएको प्राविधिक सुवेदीको भनाई छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्