सुरेश आले ‘सर्जु’,
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.३ स्थित ऐतिहासिक विराटपोखरीलाई पर्यटकीय तथा धार्मिकस्थलको रुपमा विकास गर्ने उद्देश्यले भित्री पदमार्ग निर्माण गर्न शुरु गरिएको छ ।

गत आईतबारदेखि निर्माण कार्यलाई तिब्रता दिईएको हो । योसंगै पोखरीको क्षेत्रमा ग्रिल लगाउने कार्य पनि हुनेछ । प्रदेश सरकारको २० लाख रुपैयाँको आर्थिक सहयोगमा सो कार्य शुरु गरिएको हो । भित्री पदमार्ग हाललाई ६ सय फिट लम्बाई र ८ फिट चौडाईको पेभर्ससहितको हुनेछ भने पोखरीमा ग्रिल ८ सय फिट लम्बाई र ४ फिट उचाईको हुनेछ । साथै विराट सरोवर बहुउद्देश्यीय समितिको आफ्नै लगानीमा स्टेज निर्माण हुने भएको छ ।

अघिल्लो वर्ष कोरोनाको कारणले काम हुन नसकेपछि आर्थिक वर्ष २०७८–०७९ को बजेटले काम शुरु गरिएको समितिका सचिव पुनम प्रसाईले बताए । धार्मिक तथा पर्यटकीयस्थलको अवधारणाअनुरुप समितिले काम गरेको जनाएको छ । आगामी बजेटले अपुरो काम सिध्याउने समितिका उपाध्यक्ष मनप्रसाद उप्रेतीले जानकारी दिए ।

समग्र भित्री काम सक्न ५० लाख रुपैयाँ लाग्ने उनको भनाई छ । पदमार्ग निर्माणसंगै बगैचा लाईटिङ, शौचालय, खानेपानीको ब्यवस्थापनलगायत विविध कार्य गर्दै जाने समितिका अध्यक्ष ईन्द्र प्रसाईको भनाई छ । यस कार्यमा बिर्तामोड नगरपालिकाले ग्रेडर, डोजरलगायतका यान्त्रिक उपकरण सहयोग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्