पथरीशनिश्चरे , फागुन १९ । मोरङको पथरीशनिश्चरेमा इन्ट्रा– पथरीशनिश्चरे दोस्रो प्रिमियर लिग शुरु भएको छ ।

लिगको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले उद्घाटन गरे ।
पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहेको प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले मुख्य प्रायोजन गरेको हो ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ नगरप्रमुख राईले बेलुन उडाएर प्रतियोगिता उद्घाटन गरेका थिए ।स्थानीय खेलाडीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले संचालन भएको यस प्रतियोगितामा ८ वटा टीम सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा ‘बि एण्ड बि’ वाइजीएफटी विरूद्ध शिखर एफ सीले १–० गोलको अन्तरले विजय हासिल गरेको छ । शिखर एफसीका जर्सी नं ११ का सौरज रावतले उत्तराद्र्धको १७ औं मिनेटमा हानेको बलले गोलपोष्ट चुमेको थियो ।

सो खेलको म्यान अफ द म्याच शिखर टिमका सौरज रावत घोषित भए । उनलाई विशिष्ट अतिथिको तर्फबाट प्रहरी निरीक्षक धनबहादुर राजवंशीले ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरे ।
इन्ट्रा– पथरीशनिश्चरे दोस्रो प्रिमियर लिगका अध्यक्ष संजीव गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघका मोरङ अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनका प्रतिनिधि समेत रहेका कलाकार रमित ढुंगाना, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी ,रेडस्टार माविका प्रिन्सिपल टी एन तिमिल्सिना , ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक धनबहादुर राजवंशीलगायतको उपस्थिति रहेको थियो । आयोजक समितिका सचिव मनि लुङ्फुङ्वाले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्