पथरीशनिश्चरे , फागुन १९ । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपमा भारतको सिक्किम भेट्रान फुटबल क्लब विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

विहीबार भएको खेलमा सिक्किमको गोर्खा फुटबल क्लब, रूपन्देहीको बुद्धभूमि एकेडेमीलाई २–० को गोल अन्तरले हराउँदै विजयी भएको हो ।

बिहीवारको विजेता टिम सिक्किम भेट्रान फुटबल क्लबले २१ गते सेमिफाइनलमा मानेभञ्ज्याङ भेट्रान दार्जिलिङसंग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
खेल सुरु भएको पहिलो हाफको २३ औं मिनेटमा गोर्खा फुटबल क्लब सिक्किमका जर्सी नं– १३ का सुमन सुवेदीले हेडिङ गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने सोही टिमका जर्सी नं ७ का कप्तान डेनी राईले दोस्रो हाफको २१ औं मिनेटमा अर्को गोल थपेर आफ्नो टिमलाई विजयी तुल्याएका थिए ।

सो खेलको म्यान अफ द म्याच विजेता टिमका गोलरक्षक मनोजकुमार सेन्चुरी घोषित भए । उनलाई अमरदह ढल्केजोवन फुटबल क्लबका उपाध्यक्ष हेमेश्वर राईले ५ हजार नगदसहित ट्रफी प्रदान गरेका थिए ।

शुक्रवारको खेल बिआरसी भुटान र त्रिभुवन आर्मी क्लब काठमाडौँ बीच हुने अमरदह चौथो अन्तर्राष्ट्रिय ढल्केजोवन आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताए ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल , ट्रफी पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्