पथरीशनिश्चरे , फागुन २० । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।


शुक्रवार भएको खेलमा भुटानको बि आर सी फुटबल क्लबविरूद्ध त्रिभुवन आर्मी क्लब काठमाडौँले २का विरूद्ध ४ गोल गर्दै विजयी भएको हो ।

शुक्रवारको विजेता टिम त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं २३ का टेकबहादुर बुढाथोकी चौथो ढल्केजोवन गोल्डकपकै पहिलो ह्याट्रिक गर्न सफल भए । खेलको पहिलो हाफको ९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका आर्मीका बुढाथोकीले पुनः २३ औ मिनेटमा अर्को गोल थपेर आफ्नो टिमलाई २–० को अन्तरमा पुर्याएका थिए भने विपक्षी भुटान बिआरसी टिमका जर्सी नं १० का श्याम गोलेले ३५ औं मिनेटमा गोल गरेर २–१को अन्तरमा पुर्याए । दोस्रो हाफको २७ औं मिनेटमा पुनः त्रिभुवन आर्मी क्लबका जर्सी नं ६ का टंक बस्नेतले अर्को गोल थपेर आफ्नो टिमलाई ३–१ को अन्तरमा पुर्याए ।तर, त्रिभुवन आर्मी टिमलाई प्रत्यूत्तरमा भुटान बिआरसी क्लबका जर्सी नं ११ का देउमान लिम्बुले जवाफी गोल फर्काई ३–२ गोल अन्तरमा झारे । अति नै सनसनीपूर्ण तथा प्रतिस्पर्धात्मक भएको खेलमा आर्मीका जर्सी नं २३ कै बुढाथोकीले दोस्रो हाफको ३२ औं मिनेटमा पुनः तेस्रो गोल गर्दै चौथो अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपकै पहिलो ह्याट्रिक गर्न सफल भए ।

शुक्रवारको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकी घोषित भए। उनलाई प्रमुख अतिथि रहेका डन बक्स बोर्डिङ स्कूलका संस्थापक किरण थापाले नगद ५ हजारसहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरे।
शनिवारको पहिलो सेमिफाइनल खेल मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र बुद्धभूमि रूपन्देहीबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्