भद्रपुर, फागुन २२ । नेपाली कांग्रेस भद्रपुर ९ नं. वडा समितिले वडा न.ं ९ का वडाध्यक्ष शनिलाल राजवंशीको कार्यकक्षमा लगाएको ताला आइतवार सेवाग्राहीहरुले तोडिदिएका छन् ।

सेवा लिन आईतवार विहान १०ः१० बजे ८–१० जनाको समूहमा कार्यालयमा आएका सेवाग्राहीहरुले अध्यक्ष राजवंशीको कार्यकक्षमा लगाएको ताला तोडिदिएका हुन् ।

जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयलाई विनासूचना तालाबन्दी गरेर जनतालाई असर पुग्ने काम गर्न नहुने भन्दै ताला तोडिदिएको सेवाग्राही बसन्त राजवंशीले बताए ।
उनले वडा कार्यालय कुनै राजनैतिक दलको पार्टी कार्यालय नभएर जनताको प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकोले तालाबन्दी गरेर कहि कसैको पनि हित नहुने बताए ।

वडाध्यक्ष राजवंशीले सम्बन्धित निकाय अदालतबाट कामकाज नगर्न आदेश नआएसम्म काम गर्न पाउनु पर्ने बताउँदै पत्र प्राप्त हुनेबितिकै कार्यबाहक तोकेर छोड्नु पर्ने वडा सदस्य नुतन पौडेलले बताए ।
किर्ते नागरिकतामा जिल्ला अदालत झापाबाट कसुर ठहरिएका अध्यक्ष राजवंशीले नैतिकताको आधारमा जनताको काम कारवाही गर्न नमिल्ने भन्दै नेपाली कांग्रेस वडा नं ९ का वडा सभापति चेतनाथ भट्टराईको नेतृत्वमा शुक्रवार गएको एक टोलीले वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

किर्ते नागरिकता काण्डमा ३ बर्ष अगाडीदेखि दोषी ठहरिएका राजवंशी केहि समय फरार रहेर अदालतमा धरौटी राखेर छुटेका थिए । अदालतको २०७८ मंसिर १३ गतेको फैसलामा उनलाई दोषी ठहर गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्