पथरीशनिश्चरे ,फागुन २० । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपमा काठमाण्डौको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

आईतबार भएको अन्तिम सेमिफाइनल खेलमा पोखरा भेट्रान्स फुटबल क्लबविरूद्ध ४–० गोल गरी त्रिभुवन आर्मी विजयी भएको हो ।

चौथो ढल्केजोवन गोल्डकपकै पहिलो ह्याट्रिक गर्न सफल त्रिभुवन आर्मीका जर्सी नं २३ का टेकबहादुर बुढाथोकीले पहिलो हाफको ६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने आर्मीकै जर्सी नं १६ का विमल पाण्डेले १५ आंै मिनेटमा अर्को गोल थप्दै आफ्नो टिमलाई २–० को अन्तरमा पुर्याए ।

खेलको दोस्रो हाफको २३ औं मिनेटमा पुनः त्रिभुवन आर्मीका जर्सी नं ६ का टंक बस्नेतले अर्को गोल थपेपछि आर्मीले ३–० को अग्रता लिएको थियो । पुनः ३० औं मिनेटमा पुनः त्रिभुवन आर्मीकै जर्सी नं २३ का बुढाथोकीले अर्को गोल थपेर आफ्नो टिमलाई ४– ० को फराकिलो अन्तरले सानदार जित दिलाएका हुन् ।

अधिकांश समय त्रिभुवन आर्मीलाई दवाव दिइरहेका पोखरा भेट्रान्स फुटबल क्लबका खेलाडीको थुप्रै प्रयास विफल भएको थियो ।

आइतवारको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका डिफेन्डर जर्सी नं ५ का युद्ध शाही घोषित भए। उनलाई प्रदेश नं १ का सांसद लिलावल्लभ अधिकारीले नगद ५ हजारसहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरे । सोही अवसरमा गोल्डकपमा पहिलो ह्याट्रिक गर्न सफल त्रिभुवन आर्मीका बुढाथोकीलाई १० हजार रूपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरिएको थियो ।

मंगलवार हुने फाइनल खेलमा मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुने आयोजकले जानकारी दिएको छ ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल , ट्रफी प्राप्त गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्