झापा , फागुन २३ । माघ तेस्रो साता यता नेपालमा कोभिड-१९ को संक्रमण निरन्तर ओरालो लागेको छ ।
पछिल्लो संक्रमण दर १.७ प्रतिशतमा झरेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ छ । तीमध्ये १२३ जना मात्रै अस्पतालमा उपचाररत छन् । सबैभन्दा बढी संक्रमित भएको काठमाडौंमा उपत्यकाका तीनमध्ये भक्तपुर रेड जोनमुक्त भइसकेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या गत शनिवार शून्य रह्यो । नेपालमा चलिरहेको कोभिड-१९ विरुद्धको खोप अभियानकै कारण संक्रमण दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड-१९ को नयाँ-नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम भने नटरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भए पनि अझै संक्रमणको जोखिम कायमै रहेको बताए । संक्रमण कम हुँदा सावधानी नअपनाउने हो भने नयाँ भेरियन्ट आएको अवस्थामा एकैचोटी संक्रमण बढ्नसक्ने अवस्था रहेको डा. अधिकारीको तर्क छ ।
‘छिट्टै जनजीवन पहिलेजस्तो हुने संकेत छ’
कोभिड-१९ संक्रमणको नयाँ भेरियन्ट उत्परिवर्तित् म्युटेन्ट भएमा अर्को लहरको संक्रमण आउनसक्ने विज्ञहरुको प्रक्षेपण छ । यसअघि दोस्रो लहरको संक्रमण डेल्टा र तेस्रो लहर ओमिक्रोन भेरियन्टका कारण उच्च भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन आक्रामक भेरियन्ट देखिएमा संक्रमणको अर्को लहर आउनसक्ने बताए । डा. पुन भन्छन्, “यसअघि संक्रमण उच्च भएका मुलुकहरु तथा भारतको अहिलेको अवस्थालाई हेर्दा तत्काल नयाँ भेरियन्ट फैलिने सम्भावना कम देखिन्छ । नेपालमा लक्ष्य अनुसार खोप कार्यक्रम अघि बढिरहने हो भने अब डराउनुपर्ने अवस्था कम हुँदै गएको छ ।” यद्यपि, संक्रमण शून्य हुने सम्भावना भने अहिले नै नहुने डा. पुनको आकलन छ । उनी थप्छन्, “कोभिड-१९ अब हामीसँग लिभिङ टुगेदर नै बस्ला जस्तो छ, तर संक्रमण घटेर भने जान्छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि कोभिड संक्रमण सुरु हुनु अघिजस्तो जनजीवन सहज हुने दिन चाँडै आउने संकेत छ ।”