बिर्तामोड, फागुन २३ । बिर्तामोडमा अग्नि नियन्त्रणसम्वन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजना तथा डिएचएसएस सुरक्षा प्रा.लि भरतपुरको सह–आयोजनामा नगरपालिकाको हलमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डिएचएसएस सुरक्षा प्रा.लिका प्रमुख छवि सापकोटाले आगलागी र त्यसको नियन्त्रणका लागि गर्नुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक सापकोटाले आगो नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रयोग,आगलागीको समयमा गर्न हुने र नहुने कार्यहरुको बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले आगलागीका कारणहरुमध्ये भान्सामा खाना पकाउँदा हुने लापर्वाही,विद्युत सर्ट,चुरोटका ठुटाहरु जताततै फाल्ने,बनभोज खाएर आगो ननिभाउनेलगायत रहेको बताए । प्रमुख जिल्ला अधिकारी रिजालले झापाको १५ वटा पालिकाहरुमध्ये १० वटामा दमकल रहेको र यसमध्ये पनि एउटा पालिकाको बिग्रिएर थन्किएको अवस्थामा रहेको जानकारी दिए । फमबाट चल्ने दमकल खरिद गर्न आवश्यक रहेको पनि उनले बताए ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने,जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल,नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक बिष्ट,सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदीपसिंह कार्की,इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई,जनप्रतिनिधि,कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्