माईजोगमाई , फागुन २४ ।महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङमा गत फागुन १७ बाट संचालित शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड डेभिल्सले जितेको छ ।

उसले फाइनल खेलमा सडेनडेथमा वाङ्गीनलाई पराजित गरेको हो । पहिलो हाफमा वाङ्गीनका खेलाडी जर्सी नम्बर ४ का निश्चल राईले १ गोल गरेपछि खेल झन् रोमान्चक भएको थियो । पहिलो हाफसम्ममा रेड डेभिल्सले कुनै पनि गोल गर्न सकेको थिएन । खेलको दोस्रो हाफको १ मिनेटमा रेड डेभिल्सका जर्सी नम्बर ७ का खेलाडी शेखर राईले आफ्नो टिमको तर्फबाट १ गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समय थप गर्दा पनि खेल बराबरीमा गएपछि खेल टाईब्रेकरमा मोडिएको थियो टाईब्रेकरमा जम्मा ५÷५ जनाले बल प्रहार गर्दा पनि खेलको छिनोफानो हुन सकेन । अन्ततः सडेनडेथमा रेड डेभिल्स नयाँबजारले उपाधि जितेको हो । रेड डेबिल्सका जर्सी नम्बर १२ का खेल्लाडी सुशिल सुब्बाले प्रहार गरेको गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता रेड डेभिल्सका शेखर राई, उत्कृष्ट खेल्लाडी श्रीजङ्गा समाज प्याङका जोसेफ राई ,उत्कृष्ट डिफेन्डर बीएफसी वाङ्गीनका सौरभ कार्की, उत्कृष्ट गोलरक्षक रेड डेभिल्सका विवेक मगर, उत्कृष्ट टिम कुँवापानी फुटबल क्लव रोङ, उत्कृष्ट टिम मेनेजर रेड डेविल्सका लाक्पा छिरिङ शेर्पा, उत्कृष्ट कोच रेड डेभिल्सका सुनिल लिङ्दम घोषित भए । प्रतियोगिताको बिजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेताले नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्याङ खेलकुद विकास समितिको आयोजनामा प्याङ माबिको खेलमैदानमा संचालित प्रतियोगितामा माईजोगमाईलगायत विभिन्न २० टिम सामेल भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्