झापा , फागुन २४ । रूस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।

गैरआवासीय नेपाली संघ, रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा पुगेका हुन् । शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २४ जना, हंगेरीमा १३ जना र ४ जना माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भइ बिभिन्न देशका सिमाबाट निस्किएका नेपाली सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका हुन् । ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राजकुमार थापाले जनकारी दिए । थापाका अनुसार ती नेपालीलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काले जानकारी दिए । यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय छ । युद्वबाट विस्थापित नेपालीको उद्धारको लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफैं खटिएका थिए । युक्रेनबाट विस्थापितलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित नेपालीहरुको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्