झापा , फागुन २४ । झापाको अर्जुनधाराबाट २० वर्ष दाम्लोेमा बाँधिएका एक युवकको सोमबार उद्धार गरिएको छ ।

मानसिक सन्तुलन गुमाएका युवकको मेची अभियानको सक्रियतामा उद्धार गरिएको हो । अर्जुनधारा नगरपालिका-१ का २६ वर्षीय रोशन ढुङ्गेललाई अभियानले उद्धार गरेको हो । उनलाई उपचारका लागि सोमबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले बताए । सामान्य अवस्थामै जन्मेका ढुङ्गेल २ वर्षको हुँदा बिरामी भएका थिए । ‘त्यसबेला उपचार गरिएन । गाउँकै धामीझाँक्रीको भर परियो’ ढुङ्गेलका बाबु दुर्गाप्रसादले भने, ‘पछि बिराम त जाती भयो तर, यस्तोखालको समस्या उत्पन्न भयो ।’ दुर्गाप्रसादले २ वर्षको उमेरदेखि रोशनको बोली बन्द भएकोे र अस्वभाविक हाउभाउ देखाउन थालेको जानकारी दिए । २० वर्षदेखि दिसा-पिसाब ओछ्यानमै गर्दै छ , ढ्ङ्गेलले भने, ‘घरको एकजनाले नियमित हेरचाह गर्नुपर्ने हुन्छ ।’ दाम्लोबाट फुत्किएका दिन खोज्नको हैरानी हुने उनले बताए । गाउँमा बिगार गर्ने, हराउने तथा खोज्नका लागि समस्या हुने भएकाले ढुङ्गेलले सधैँभरि दाम्लोले बाँधेर राख्न थालेको बताए । अत्यन्त न्यून आर्थिक अवस्थाको ढुङ्गेल परिवार बिरामीको उपचार गराउन सहरका अस्पताल लान सक्ने अवस्थामा छैन । बाबु दुर्गाप्रसाद गाउँकै एउटा किराना पसलमा ज्याला मजदुरीको काम गर्छन् । त्यहाँबाट आएको तलबले उनको घरको गर्जो टरेको छ । गाउँमै टाउको लुकाउने सानो झुपडी र त्यो झुपडीले ओगटेको जमिन ढुङ्गेल परिवारको सम्पत्तिको नाममा सर्वस्व हो । दुई छोरी र एक छोराका बाबु रहेका ढुङ्गेल सन्तानमध्येको जेठो छोराको यो अवस्थाबाट झन् पीडित छन् । छोराको उपचार गर्नुभन्दा उसको गोठालो गर्नु उत्तम सम्झेर दाम्लोेले बाँधेर राखिएको पीडा उनले सुनाए । अलि भरपर्दो अस्पतालमा उपचार गर्न रकम अभाव भएको हुँदा उनले अस्पताल लाने प्रयास नगरेका हुन् । अर्जुनधारा नगरपालिकाले उपचारमा लानका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराएपछि मेची अभियानले उनको उद्धार गरेर अस्पताल लगेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि निःशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्