बिर्तामोड, फागुन २५ । प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पियनसीप प्रतियोगिता फागुन २७ र २८ गते बिर्तामोडमा हुँदैछ ।

बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

कोरोना महामारीकाबीच थलिएको खेलक्षेत्र चलायमान बनाउनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का एक सय ५० जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी र ७० केजीमाथि तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख ,चौथोले ७५ हजार र पाँचौं हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोजकका अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिएको हो ।

फागुन २७ गतेको प्रतियोगिता बिर्तामोडस्थित अतिथि सदनमा र २८ गते बिर्तामोड सिटी सेन्टरमा गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भएका खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्