विराटनगर, फागुन २६ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा आयोजना गरेको प्रथम इक्वालिटी कप महिला क्रिकेट २०२२ प्रतियोगिताको उपाधि झापाले जितेको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा झापाले मोरङलाई १ सय २१ रनले पराजित गरी उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको झापाले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९५ रनको विशाल स्कोर बनाएको थियो । झापाका लागि नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीले ६५ रन बनाइन् । उनले १४९ बलमा १ छक्का र ११ चौका प्रहार गरिन् । त्स्तै अप्सरी वेगम ४० रनमा अविजित हुँदा निमा तामाङ २२ रनमा अविजित रहिन् । मोरङकी कप्तान अन्सु जैसवालले २ विकेट लिँदा काजल राजवंशीले १ विकट लिइन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा मात्र ७४ रन बनायो । मोरङकी टिका साहले २७ रन बनाउँदा सानु राजवंशीले २४ रन बनाइन् । त्यस्तै नविता श्रेष्ठ ५ रनमा अविजित हुँदा कप्तान अन्ुसु जैसवाल १ रनमा अविजित भइन् । झापाकी एलिसा खडिया, निसा साह र लतिका राजवंशीले १–१ विकेट लिए । फाइनल खेलको वुमन अफ म्याच झापाकी कप्तान रुविना क्षेत्री घोषित भइन् । त्यस्तै वुमन अफ द सिरिज झापाकी अप्सरी वेगम, उत्कृष्ट ब्याटर झापाकी काजल श्रेष्ठ र उत्कृष्ट बलर मोरङकी अन्सु जैसवाल घोषित भइन् ।

उनीहरुलाई प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे ,नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह र फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

फागुन २१ गतदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरी ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्लाका टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्