बिर्तामोड , फागुन २६ । बडी बिल्डिङप्रति युवा युवतीहरुको बढ्दो आकर्षणका कारण बिर्तामोडमा जिम हाउस खुल्ने क्रम बढेको छ ।

बिर्तामोडमा अहिले १० वटा जिम हाउस संचालनमा रहेका छन् । बडी ग्यारेज , मन्डा जिम , ब्रदर्श , मेची , फस्ट स्टेप , मदरल्यान्ड , नारी फिटनेस , ब्रदर्स एन्ड सिस्टर्स , ग्यालेक्सी , मेची हेल्थ जिम हाउस संचालनमा रहेका छन् । ती जिम हाउसमा ५ हजार जनाले अभ्यास गरिरहेको जनाइएको छ । जिमप्रति युवासंगै युवती पनि आकर्षित छन् ।

जिमलाई व्यायामसंगै खेलकुदको रुपमा लिइएपछि शारीरिक तन्दुरुस्तीसंगै आफूलाई खेलाडीको रुपमा स्थापित गराउन जिम सिक्नेहरुको संख्या बढेको बडी ग्यारेजका संचालक राम दाहालले बताए । अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेर विभिन्न पदक जितेका दाहालले खेल क्षेत्रमा बडी बिल्डिङको स्कोप राम्रो रहेको बताए ।

कराते , मोडलिङ , फुटबल, डान्सजस्ता खेल खेल्ने खेलाडीका लागि जिम अनिवार्य भएकाले यसको ठूलो महत्व रहेको बडी बिल्डिङ एसोसिएसनका केन्द्रीय सदस्य दिपेन चौधरीले बताए । उनले सरकारी निकायले बडी बिल्डिङलाई खेलकुदको मान्यता नदिएकोमा गुनासो गरे ।

जिम हाउसमा युवासंगै युवतीहरुको संख्या पनि बढ्न थालेको छ । दमककी सलिना राईले जिम सिक्न थालेको दुई वर्ष भयो । फिजिकल फिटनेसका लागि जिम अपरिहार्य भएको उनले बताइन् । विवाहित महिलाहरुले जुम्बा सिक्ने गरेकोमा आफूजस्ता युवतीको रोजाइ जिम नै भएको उनले बताइन् ।

संचालकहरुले करोडौंको लगानी गरेर जिम हाउस खोलेका छन् । बढ्दो आकर्षणका कारण ती जिम हाउसहरु व्यावसायिक बन्न थालेका छन् ।‘ बिर्तामोडका सबै जिम हाउसहरु राम्ररी नै चलेका छन् ’ बडी ग्यारेजका संचालक दाहालले भने ।

बडी बिल्डिङ खेल र खेलाडीलाई प्रोत्साहन गर्न प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता फागुन २७ र २८ गते बिर्तामोडमा हुँदैछ । बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का एक सय ५० जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्