दमक, फागुन २७ । दमक वडा नम्बर ७ मा रहेको एड्भान्स अस्पतालले स्पाईनल केयर युनिट सञ्चालनमा ल्याएको छ ।

अस्पतालले शुक्रवार औपचारिक कार्यक्रम गरी उक्त केयर युनिट सञ्चालनमा ल्याएको हो । मेरुदण्ड रोग बिशेषज्ञ प्राध्यापक डाक्टर गौरवराज ढकालको प्रत्यक्ष निगरानी रहनेगरी एड्भान्समा उक्त केयर युनिट सुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।
एड्भान्स अस्पताल सञ्चालक समिति सदस्य दिपक खरेलको अध्यक्षता र दमक नगरपालिका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईको बिशेष उपस्थितिमा उक्त केयर युनिटको सुरुवात गरिएको हो । एड्भान्स अस्पतालका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. अनुप पोखरेलले मेरुदण्ड रोग बिशेषज्ञ डा. ढकालसंगको समन्वयमा स्पाईनलसम्बन्धी समस्या भएका बिरामीको उपचार गरिने व्यवस्था मिलाईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास सुवेदीले जानकारी दिए ।
अब ढाड, कम्मर, गर्दन दुख्ने तथा ढाडको नशा च्यापिएका बिरामीले अन्यत्र धाउनु पर्ने झन्झट नहुने उनले बताए । तत्काल केयर युनिट सञ्चालन गरिएको भए पनि केहि समयभित्र एड्भान्स अस्पतालमा स्पाईनलको सबै उपचार गर्नेगरी अप्रेसन थिएटर समेतको तयारी भैरहेको डा. सुवेदीले बताए ।