बिर्तामोड ,फागुन २७ । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्डकपको फाइनलमा पुगेको छ ।

अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २ तथा सुमन अर्याल र सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपकसिंह ठकुरीले एक गोल गरेका थिए ।

पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुमन अर्यालको गोलबाट आर्मीले २७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।

दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गरेका थिए । टंक बस्नेतले पेनाल्टी बक्समा दिएको पासमा सन्तोषले गोल गरेका हुन् । टेकबहादुरले ३ मिनेटको फरकमा दुई गोल गर्दै आर्मीको जितलाई सहज बनाएका थिए ।
८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे । युद्ध शाहीको फ्रिकिकमा नवयुग श्रेष्ठले फ्लिक हेडर गरेपछि टेकबहादुर गोल गरेका हुन् । ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपेका थिए ।

यसै महिना सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका थिए ।आर्मी दोस्रो र पहिलो पटक ए डिजिभन लिग खेलेको सातदोबाटो चौथो स्थानमा रहेका थिए । आर्मीले सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्