बिर्तामोड , फागुन २७ । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको ‘मिस्टर कञ्चनजंघा बडि विल्डिङ च्याम्पियनसिप’ प्रतियोगिता बिर्तामोडमा सुरु भएको छ ।

वडि विल्डिङ च्याम्पियनसिपको पहिलो दिन शुक्रवार अतिथिसदनमा प्रि जर्जिङ राउण्ड सम्पन्न भयो । प्रि–जर्जिङ राउण्डको प्रमुख अतिथि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ४४ जना पुरुष खेलाडीमध्ये ३० जना खेलाडी फाइनलको लागि छनोटमा परेका छन् । ५५ केजी तौल समूहका ६ जना, ६० केजी तौल समूहका ६जना, ६५ केजी तौल समूहका ६ जना, ७० केजी तौल समूहका ६ जना र ७० केजी तौलभन्दा माथिको समूहका ६ जना खेलाडी छनोटमा परेका हुन् ।

प्रतियोगिताको जजहरुमा शारीरिक सुगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक अजय बज्राचार्य,एशियन रेफ्रि शिव मुखिया,राष्ट्रिय निर्णायक केशव नागा,रणबहादुर थेवे,हरि धिमाल,दिपेश पाठक,पूर्ण तामाङ र सीता राई श्रेष्ठ रहेका थिए । बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख ,चौथोले ७५ हजार र पाँचौं हुनेले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा लेडिज च्याम्पियनसिप समेत हुने छ । जसको विजेताले १५ हजार, फस्ट रनर अपले १० हजार ,सेकेण्ड रनरअपले ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगिताको फाइनल खेल २८ गते शनिबार बिर्तामोड सिटी सेन्टरमा रहेको साइ प्यालेस हलमा साँझ ५ बजेदेखि सुरु हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्