झापा , फागुन ३० । झापा गोल्डकपको फाइनल खेल आज हुँदै छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा-११ भिड्ने छन् । झापाले सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो। आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए। झापा-११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए। उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए। आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि जितेको छ। पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन्। यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा जाने भएका छन्। अलमुताइरी फाइनलमा उपस्थित हुने पक्का भएको हो। उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन्। प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए। उनी खेल अवधिभर मैदानमा रहने बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्