पथरीशनिश्चरे, चैत २ । मोरङको पथरीशनिश्चरे नगरमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको नकआउट चरणको पहिलो खेलबाट टेन नवोदय एफसी फाइनलमा प्रवेश गरेको छ ।

न्यू स्टार एफसी नकआउट चरणबाटै बाहिरिएको छ।
बुधबार भएको सेमिफाइनल खेलमा टेन नवोदयले न्यू स्टार एफसीलाई एकका विरुद्ध दुई गोल गर्दै फाईनलमा स्थान बनाएको हो । समूह ‘ए’ को विजेता टेन नवोदयका जर्सी नं ९ का खेलाडी रोशन माझीले खेलको पूर्वाधकै ३० सेकेन्डमा न्यू स्टार एफसीविरुद्ध गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाएका थिए।
खेलको १२ मिनेटमा टेन नवोदयका जर्सी नं १६ का सन्तोष केसीले पुनः अर्को गोल गर्दै आफ्नो टिमलाई २–० को अन्तरमा पुर्याए ।
यसैवीच, खेलको १७ औं मिनेटमा न्यूस्टार एफसीका जर्सी नं २७ का खेलाडी सुरेन्द्र लिम्बुले प्रहार गरेको बल जोगाउने क्रममा टेन नवोदयका अर्का खेलाडी राज तामाङले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि न्यू स्टार एफसीले १ गोल उपहार पाएको थियो।
बुधवारको खेलको म्यान अफ दि म्याच न्यू स्टार एफसीका जर्सी नं ९ का दिपेन माझी घोषित भए । उनलाई प्रमुख अतिथि मनोज विक्रम शाह र खेल आयोजक समितिका अध्यक्ष सन्दिप गिरीले संयुक्त रूपमा ३ हजार रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरेका थिए।
बिहीवारको खेल समूह ‘ए’को शिखर एफसी र समूह ‘बी’ को उपविजेता द रियल व्रोदर्स एफसीबीच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताएका छन् ।