झापा, चैत ३ । कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ । अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ । यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ । सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ । प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ । अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ । अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन् । वलर््डोमिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा संक्रमण थपिएको छ भने १६४ जनाले ज्यान गुमाएका छन् । युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा दैनिक संक्रमित १ लाख पुग्दा बेलायत , इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । चीनमा पनि पछिल्लो समय संक्रमित ह्वात्तै बढेका छन् । शून्य कोभिड नीति लिएको चीनले कोरोना बढेको व्यापारिक केन्द्र सेन्जेन र उत्तरपूर्वी सहर जिलिनमा कडा प्रतिबन्धहरू लगाएको छ । डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ । ’कतिपय देशहरूले परीक्षण नै कम गरेको बेला यति धेरै संक्रमित थपिनुले ठूलै खतराको संकेत गरेका छन्,’ डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् । पछिल्लो समय संसारभर धेरै देशहरूमा प्रतिबन्धहरू फुकुवा गरिएको र जनजीवन सामान्य भएकाल ओमिक्रोन भेरियन्ट र यसको सबलिनेज बिए.२ का कारण संक्रमण बढेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ । केही विज्ञहरूले युरोपमा फेरि कोरोनाको अर्को लहर आउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्