बिर्तामोड , चैत ३ । अनारमनी पव्लिक क्याम्पस र बिर्तामोड नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा भलिवल , हाजिरी जवाफ र म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

यही चैत ७ देखि ९ गतेसम्म अन्तर मावि÷क्याम्पस भलिवल प्रतियोगिता , बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता र खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको हो । अनारमनी पव्लिक क्याम्पसमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा त्यसबारे जानकारी दिइएको हो ।

चैत ७ गते बिहान १० बजेदेखि अनारमनी पव्लिक क्याम्पसमा अन्तर मावि÷ क्याम्पस भलिवल प्रतियोगिता हुने भएको छ । अहिलेसम्म ७ वटा विद्यालयले प्रतियोगिताको लागि नाम दर्ता गराएका छन् । सहभागी विद्यालयको अन्तिम नामलिष्ट प्राप्त भएपछि खेल तालिका सार्वजनिक गरिने क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताए । उनले त्यस प्रतियोगितामा छिमेकी पालिकाका मावि र क्याम्पसहरुले सहभागिता जनाउन पाउने जानकारी दिए । प्रतियोगितमा प्रथम हुने टीमले ३५ हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता चैत ९ गते बिहान ११ बजेदेखि अनारमनी पव्लिक क्याम्पसको प्रांगणमा हुनेछ । बिर्तामोड नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुले मात्र सहभागिता जनाउन पाउने सो प्रतियोगितामा प्रत्येक समूहमा ३ जना विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने टीमलाई क्रमशः १५ हजार , १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने शिवाकोटीले बताए ।

त्यस्तै म्याराथन दौड चैत ७ गते बिहान ७.३० बजे शुरु हुनेछ । बिर्तामोड नगरपालिका कार्यालय अगाडिबाट शुरु भएर दुर्गा मन्दिर अगाडिबाट पुरानो भद्रपुर रोड हुँदै पुनः नगरपालिका कार्यालय अगाडि आएर म्याराथन दौड सकिने छ । म्याराथनका लागि करिव ५ किलोमिटर दुरी तय तय गरिएको म्याराथन दौडका संयोजक अनारमनी पव्लिक क्याम्पसका सदस्य अर्जुन मैनालीले बताए । उनले सो खुल्ला म्याराथन दौडमा ५० देखि ७० जनाले भाग लिने जानकारी दिए । ‘नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना सबैले भाग लिन पाउँछन् ’ उनले भने ,‘ यसमा उमेरको हद पनि तोकिएको छैन ।’ दौडमा प्रथम हुनेले ७ हजार , द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार पुरस्कार पाउनेछन् ।

अनारमनी पव्लिक क्याम्पसको डेढ लाख र बिर्तामोड खेलकुद विकास समितिको डेढ लाख गरी तीन लाख रुपैयाँमा ती प्रतियोगिता आयोजना गर्न लागिएको हो । करिब २ वर्ष लामो कोभिड १९ को सन्त्रास एवम् महामारीले विद्यार्थीमा गिरेको मनोबललाई उँचो बनाउन, उनीहरुको आत्मवलमा वृद्धि गर्न, विद्यार्थीको खेलप्रतिभा बढाउन एवम् कोभिड महामारीले अस्तव्यस्त बनाएको शिक्षा क्षेत्रलाई लयमा फर्काउन खेल प्रतियोगिता आयोजना गर्न लागेको क्याम्पस प्रमुख शिवाकोटीले बताए । क्याम्पस संचालक समितिका उपाध्यक्ष कृष्ण बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सल्लाहकार उमानाथ ओलीले पनि प्रतियोगिताको तयारीबारे जानकारी दिएका थिए । कार्यक्रममा क्याम्पस संचालक समितिका कोषाध्यक्ष जानुका थापा मगर , बिर्तामोड खेलकुद विकास समितिका दुर्गाराज निरौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्याम्पस संचालक समितिका सदस्य रुद्र सिटौलाले गरेका थिए ।
समुदायको सहयोगमा २०६४ सालमा स्थापना भएको अनारमनी पब्लिक क्याम्पसमा २४५ जना विद्यार्थीहरु अध्ययनरत छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्