बिर्तामोड , चैत ३ । झापामा पहिलो पटक प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका ५ नं. वडा खेलकुद विकास समितिको आयोजनामा बुधबार प्रथम प्रदेशस्तरीय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । प्रदेश नं १ को विभिन्न जिल्ला सहभागी भएको प्रतियोगितामा पुरुषतर्फ धरानको हाम्रो कलेक्सन प्रथम , टिम तरहरा द्वितीय भएको छ । हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकले पराजित गर्दै उपाधि हात पारेको हो । प्रथम हुने टिमले नगद १५ हजार र द्वितीय हुनेले नगद १० हजार ,मेडल र प्रमाणपत्र पाएका छन् । पुरुषतर्फ हाम्रो कलेक्सनका हेमन्त राई उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फको खेलमा टिम मेघा धरान प्रथम र आयोजक बिर्तामोड द्वितीय भएको छ । खेलमा मेघा धरानले बिर्तामोड महिला टिमलाई ९–६ अंकले पराजित गरेको हो । प्रथम हुने महिला टीमले नगद ५ हजार र द्वितीय हुने टीमले नगद ३ हजार , मेडल र प्रमाणपत्र पाएका छन् ।

महिलातर्फ राष्ट्रिय खेलाडी आशा राई उत्कृष्ट घोषित भइन् । नेपाल बास्केटवल लिग एनविएलको सहयोग रहेको प्रतियोगितामा महिलातर्फ ७ र पुरुष तर्फ १२ टीमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उद्घाटन १ नं. प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री .जसमाया गजमेरले गरेकी थिइन् । प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका राष्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए ।

५ नं. वडा खेलकुद विकास समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा , राष्ट्रिय टीमका खेलाडी अरुण कार्की , बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौैला ,झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन ,वडा नं ५ का जनप्रतिनिधि डि आर कडरिया , लक्ष्मी बास्कोटालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कप्तान सदिश प्रधान , नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा र झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्