झापा, चैत ५ । पाँचथरकी ३९ वर्षीया निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनका श्रीमानलाई पक्राउ गरेको छ ।

फाल्गुनन्द गाउँपालिका-३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए । बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो । सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए । उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो । दिलिपविरुद्ध प्रहरीले आइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्