पथरीशनिश्चरे, चैत ५ ।इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि द रियल ब्रोदर्सले चुमेको छ ।

फाइनलमा द रियल ब्रोदर्श एफसीले न्यूस्टार एफसीका विरुद्ध २–१ अन्तरले गोल गर्दै च्याम्पियन बनेको हो ।
न्यूस्टारका जर्सी नं १६ का सन्देश केसीले पहिलो हाफको अतिरिक्त समयमा १ गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए ।

खेलको ४६ औं मिनेटमा द रियल ब्रोदर्स एफसीका जर्सी नं ४ का समिर याखाले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याए । पुनः २ मिनेटमा रियल ब्रोदर्सका जर्सी नं ९का अंकित लिम्बुले हेडमार्फत अर्को गोल थपेर आफ्नो टिमलाई २–१ को अन्तरले उपाधि दिलाएका हुन् ।
प्रमुख अतिथि रहेका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले विजेतालाई २ लाख ५१ हजार नगदसहित मेडल र ट्रफी प्रदान गरे भने उपविजेता न्यू स्टार एफसीले १ लाख ५१ हजार र ट्रफी प्राप्त गरेको छ ।

खेलको म्यान अफ द म्याच विजयी टिम द रियल ब्रोदर्सका जर्सी नं ८८ का विशाल पाण्डे घोषित भए । उनलाई ३ हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिएको थियो।

यसैगरी, अन्य विधातर्फ बेष्ट गोलकिप्पर द रियलका रोजन धिमाल , बेष्ट डिफेन्स द रियलकै दिपेश धिमाल , बेष्ट मिड फिल्डर न्यूस्टार एफसीका दिपेन माझी ,बेष्ट फरवार्ड द रियलका अंकित लिम्बु ,हाई स्कोरर न्यूस्टार एफसीका जूनियर साँवा , बेष्ट कोच द रियलका सागर कार्कीलगायतलाई ७ हजार ५ सयका दरले नगदसहित ट्रफी प्रदान गरिएको थियो । फाइनल खेलमा ईन्ट्रा वेलफेयर फाउण्डेसन अफ अमेरिकाको नेपाल एम्वासेडर समेत रहेका नेपाली चलचित्रका निर्देशक तथा कलाकार अमित ढुंगाना, नेपाली चलचित्रका सुपरस्टार नायक दिलिप रायमाझी, चर्चित गायक डम्बर नेपाली , द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर , गायिका ममता गुरुङलगायतका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थिति रहेको थियो । उनीहरूले शनिबार साँझ विभिन्न गीत गाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्