बिर्तामोड ,चैत ५ । मेचीमहाकाली संयुक्त बुहारी आवाज झापाले बलात्कारीलाई फाँसीको सजाय कानुनी रुपमै सुरक्षित गर्न माग गर्दै बिर्तामोडमा प्रदर्शन गरेको छ ।

‘बाल हिंसा अन्त्य गर, हत्यारालाई फाँसी दे, बलात्कारीलाई फाँसीको सजाय कानुनमै ब्यवस्था गर, उठ नारी अति भो सही बस्दा क्षति भो, नारी सामान होइन सम्मान हो , हिंसारहित समाजको निर्माण गरौं , बालिका बलात्कार गर्नेलाई कि त फाँसी दे कि त उसको लिङ्ग मासी दे’ लगायतका नारासहित निकालिएको र्यालीले बिर्तामोड परिक्रमा गरेको थियो ।
मोरङ सुन्दर हरैचा वडा नम्बर–६ मा १८ महिने बालिका मण्डलको बलात्कारपछि भएको क्रुर हत्या एवं देशका विभिन्न स्थानमा भएको हिंसा र बलात्कारका विरुद्ध बुहारीहरुको समूह सडकमा आएको हो । बालिका मण्डलको केही दिनअघि बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

मेचीमहाकाली संयुक्त बुहारी आवाजको र्यालीमा केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, झापा अध्यक्ष शिखा खड्का गणेश, उपाध्यक्ष गंगा भट्टराई, दमक उपशाखा प्रमुख जमुना निरौलालगायतको नेतृत्व रहेको थियो । र्यालीपछि आयोजित कोणसभामा केन्द्रीय उपाध्यक्ष काफ्ले, झापा अध्यक्ष गणेश, अर्जुनधारा– ६ की जनप्रतिनिधि लक्ष्मी महतारालगायतले बोल्दै महिला हिंसा अन्त्य गरेर सभ्य समाजको निर्माणमा जोड दिएको कोषाध्यक्ष परु सुबेदीले जानकारी दिइन् । लगभग तीनसय बढी महिलाको सहभागिता रहेको कार्यक्रमको संचालन सचिव कबिता थापाले गरेकी थिइन् । हिंसामुक्त समाजको मुल नारासहित विभिन्न सामाजिक काम गरिरहेको मेचीमहाकाली संयुक्त बुहारी आवाजको नेतृत्व यमु शर्मा सुब्बाले गरिरहेकी छन् । संस्थामा १० हजारबढी महिलाहरु आबद्ध छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्