बिर्तामोड ,चैत ५ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले केही दिनअघि सातजना केन्द्रीय सदस्यमा मनोनित गरेको निर्णयप्रति नेपाल प्रेस युनियन झापा शाखाले आपत्ति जनाएको छ ।

झापा शाखाका सभापति इन्दु पूर्वेली र डिल्लीराम घोर्साईंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै वैधानिकता सकिएको चार बर्षपछि २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः केन्द्रीय सदस्य मनोनित गर्नु संस्थाको विधानविपरित भएको ठहर गर्दै आपत्ति जनाएका हुन् ।

युनियन झापा शाखाले विधान मिचेर गरिएको उक्त निर्णय सच्याउन माग गर्दै विज्ञप्तिमा भनेको छ–‘उक्त निर्णय फिर्ता नलिए उत्पन्न हुने असहज परिस्थितिप्रति गम्भीर हुनसमेत केन्द्रीय समितिलाई आह्वान गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छ –‘२०७१ साल भदौ २१ देखि २३ गतेसम्म पोखरामा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको वर्तमान नेतृत्वको बैधानिकता विधानतः २०७४ सालमा नै सकिएको युनियनमा आबद्ध सबैमा विदितै छ । वैधानिकता सकिएको चार बर्षपछि आगामी २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः विधानविपरित सदस्यता थप गर्दै जानुले विधि, प्रक्रिया र विधान मिचिएकोप्रति नेपाल प्रेस युनियन झापाको आपत्ति छ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्