भद्रपुर, चैत ६ । पौराणिक कालदेखि शक्ति प्रदर्शनमा महत्वपूर्ण मानिएको धनुषकाँण खेललाई नेपालबाट लोप हुन नदिन झापा जिल्लामा पनि खेलाडी उत्पादन सुरू गरिने भएको छ ।

झापा जिल्ला आर्चरी संघले यही चैत ११ देखि तीन दिनसम्म भद्रपुरस्थित मेची रङ्गशालामा धनुषकाँण खेलसम्बन्धी तालिम दिने भएको हो ।

आर्चरी संघका झापा जिल्ला अध्यक्ष प्रज्वल राईको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय खेलाडी दीपकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा खेलको बारेमा जानकारी गराइएको थियो ।

नेपालमा २०४४ मा दर्ता भए पनि खेलको सुरुवात २०६२ सालबाट भएको अध्यक्ष गुरुङले जानकारी दिए । सन् २०१६ मा रियो ओलम्पिकमा नेपालबाट मकवानपुरका जीतबहादुर मोक्तानले भाग लिए पनि पूर्वतयारी नपुगेका कारण सफल हुन नसकेको उनले जनाए । खेलको बारेमा पूर्ण जानकार नहुँदा खेलाडीमा विचलन आइ खेलबाट नै पलायन हुने कारण यो खेल ओझेलमा परे बताउँदै उनले अब नेपालभर सक्रिय गराइने जनाए ।

खेलका प्रमुख प्रशिक्षक समेत रहेका गुरुङले हाल नेपालका १७ जिल्लामा यो खेल फैलिए पनि सन्तोषजनक खेलाडी उत्पादन गर्न नसकिरहेको गुनासो गरे । उनले खेलमा १४ वर्षभन्दा माथिका दुवै समूहले भाग लिन सक्ने कारण अन्य विशेष कुनै मापदण्ड नरहेको जानकारी गराए । प्रदेश ४ को पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलमा प्रदेश १ बाट महिला पुरुष गरी ८ जना खेलाडीलाई छनौट गरी खेलमा भाग लिने वातावरणका लागि तालिम महत्वपूर्ण मानिएको गुरुङको भनाइ छ ।
संघका सचिव दीप पौडेलले सहजीकरण गरेको कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष शमशेर तामाङ, सहसचिव महेन्द्र कोइराला, कोषाध्यक्ष विशाल राई, सदस्यहरू विवेक लिम्बू, भुपाल कार्की, भरत गुरुङ, राजन भट्टराई, विशाल लिम्बू, विजय लिम्बू, सुभाष राई , विवेक आचार्य , हाङनारायण लिम्बू, सञ्जय राईलगायतको उपस्थिति रहेको थियो ।

संघलाई दर्विलो बनाउन आदित्य पराजुली ,विगत ओझा र विनोद चापागाईँलाई सल्लाहकार राखिएको अध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्