पथरीशनिश्चरे, चैत ७ । विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीचको झडपले मोरङको लेटाङ नगरपालिका तनावग्रस्त बन्यो ।

झडपका क्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका केही प्रहरी घाइते भएका छन्। महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको थियो । छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जिसीले जानकारी दिए ।

आइतबार बिहान लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएसँगै आक्रोशित स्थानीयवासीले विद्यालय घेरेका थिए।

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। तर, आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताए।
विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले साँझ निकाल्ने क्रममा भीडले आक्रमण गरेको थियो। प्रदर्शनकारीहरुले आरोपित शिक्षकको मोटरसाइकल समेत जलाइ दिएका छन्।
विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्