बिर्तामोड , चैत ९ । अनारमनी पव्लिक क्याम्पस र बिर्तामोड नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा भलिवल , हाजिरी जवाफ र म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

यही चैत ७ देखि शुरु भएको अन्तर मावि÷क्याम्पस भलिवल र बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता बुधवार सम्पन्न भएको हो । खुल्ला म्याराथन दौड प्रतियोगिता भने उद्घाटनकै दिन आयोजना गरिएको थियो ।

भलिवल प्रतियोगितामा आदर्श विद्या मन्दिर मावि घैलाडुब्बा प्रथम भएको छ । फाइनल खेलमा निधि माविलाई बेष्ट अफ फाइभका आधारमा ३–० ले हराउँदै आदर्श विद्या मन्दिर प्रथम भएको हो । निधि माविले द्वितीय स्थानमा चित्त बुझाएको छ । त्यस्तै मनकामना कलेजलाई बेष्ट अफ थ्रीमा २–१ ले हराउँदै एमिटी कलेज तृतीय भएको छ । प्रथम , द्वितीय र तृतीय हुने टीमले क्रमशः ३५ हजार , २५ हजार र १५ हजार नगद पुरस्कार पाएका छन् । भलिवल प्रतियोगितामा १४ वटा टीमले भाग लिएका थिए । त्यस्तै हाजिरी जवाफ प्रतियोगितातर्फ महेन्द्ररत्न माविका अनुज खरेल , ओमप्रकाश दाहाल र धिरज महत्तोको टोली प्रथम भएको छ । त्यस्तै निधि माविका सोहन निरौला , किरण दाहाल र प्रनिश न्यौपानेको टोली द्वितीय हुँदा कंचनजंघा माविका विनिता चुडाल , प्रकाश चिमरिया र प्रज्वल मिश्रको टोली तृतीय भएको छ । प्रथम ,द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार ,१० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । सो प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए ।

खुल्ला म्याराथन दौडमा भने धरानका नबिन तामाङ प्रथम भएका थिए ।
९४ जना प्रतिष्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । त्यस्तै धरानकै खान्छोहाङ लिम्बू द्वितीय भएका छन् । त्यस्तै बिरेन्द्र मा.वि. भद्रपुरका लुखिराम हस्दा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७ हजार , ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बिर्तामोड नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको दौड मुक्ति चोक पुगेर पुनः नगरपालिकामा समापन भएको थियो । दौड प्रतियोगितामा नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी गरी ९४ जनाले भाग लिएका थिए । अनारमनी पव्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी टीमका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौला , उपाध्यक्षहरु दुर्गा निरौला ,केशव भण्डारी , सदस्यहरु शारदा दाहाल , डिल्ली सुब्बा , क्याम्पसका सल्लाहकार उमानाथ ओली , सदस्य डा. लक्ष्मी मैनाली , खेलकुद संयोजक कृष्ण बिमली, इलाका प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यलगायतले शिल्ड, पदक र पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालन क्याम्पस प्रमुख मोहन शिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्