झापा , चैत १० । झापाको शिवसताक्षी नगरपालिका वडा नं १ मा भएको सांघातिक हमलाका दोषीलाई कार्वाही गर्न प्रहरीले हिम्मत गर्न सकेको छैन ।

हमलाबाट घाइते दिव्या बाँसकोटा

शुरुमा जाहेरी लिन नमानेको प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी दिँदा समेत दोषीलाई पक्राउ गरी कार्वाही गर्न नसकेको पीडितहरुले गुनासो गरेका हुन् ।

गत फागुन २७ गते बिहान दिव्या बाँसकोटा , जानुका ढकाल , भेषराज ढकाल र तेजस्विनी बाँसकोटामाथि सांघातिक हमला भएको थियो । हमलाबाट दिव्या बाँसकोटा , जानुका ढकाल र भेषराज ढकाल अस्पताल भर्ना भएका थिए । बिर्तामोडको बिएण्डसी हस्पिटलमा २ लाख ६९ हजार रुपैयाँ उपचारमा खर्च भएको र अझै उपचार जारी रहेको परिवारले जनाएको छ । सांघातिक हमला भएपछि प्रहरीले हमला गर्नेहरुलाई पक्राउ गरेर लगेपनि सोही दिन रिहा गरेको थियो । त्यसपछि आफूहरुले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको र धेरै हारगुहारपछि मात्र हमला गर्ने युवराज खरेल , कुशल खरेल , अजय बाँसकोटा , कल्पना खरेल र चैतकुमारी खरेलमाथि ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी लिएको पीडित परिवारकी तेजस्विनी बाँसकोटाले बताइन् ।

‘ धेरैजनालाई हारगुहार गरेपछि र धेरैतिरको दवावपछि बल्ल प्रहरीले फागुन २९ गते जाहेरी दर्ता गर्यो ’उनले भनिन् ,‘तर, जाहेरीउपर अझैसम्म कार्वाही भएन ।’ राजनीतिक संरक्षणका कारण गाउँघरमै रहेका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको उनले गुनासो गरिन् । आफूहरुलाई प्रहरी प्रशासनदेखि जनप्रतिनिधिहरुले समेत साथ नदिएको उनको गुनासो छ ।

बाटोको विषयमा विवाद भएको थियो । त्यही विवादका क्रममा तेजस्विनीको परिवारमाथि हमला भएको थियो । घटना भएको दिन पक्राउ पर्दा आरोपितहरुलाई वडाध्यक्ष सुवास राईले जमानीमा रिहा गराएका थिए । तर, उनले ती आरोपितहरुलाई प्रहरीको जिम्मा लगाएका छैनन् । ‘आफूले दुईजनालाई जमानीमा रिहा गराएको स्वीकार गर्दै वडाध्यक्ष राईले आरोपितहरुलाई आफूले इलाका प्रहरी कार्यालय जान भनेको जानकारी दिए । उनले ती आरोपितहरुसंग आफ्नो सम्पर्क भइरहेको बताउँदै केही दिनभित्र प्रहरीकहाँ उपस्थित हुने जानकारी दिए ।

तर, प्रहरीले भने ती आरोपितहरु बेपत्ता रहेको बताउँदै आएको छ । ‘ हामी खोजी गरिरहेका छौं ’इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण प्रधानले भने,‘ अनुसन्धान र कार्वाहीको प्रक्रिया जारी छ ।’ गाउँघरमै रहेका आरोपितहरुलाई प्रहरीले पक्राउ नगरेको पीडित परिवारको गुनासो हो । ‘प्रहरीले टार्ने काम मात्र गरिरहेको छ , हामीले न्याय पाएनौं कृपया सबैले सहयोग गर्नुहोला’ पीडित तेजस्विनीले भनिन् ।

१ प्रतिक्रिया

  1. हामी विभिन्न ,कारण बाट घर परिवार छडेर आफ्नो बाध्यता ले बिदेश मा काम गर्ने का परिवार ,के अब सुरक्षित छैनन त ? के अब उनी हरुले न्याय नपाउने नै हो त ? कस्को संरक्षण मा प्रहरी ले ती अपराधीहरु लाई छाडेको थियो ? र अहिले सम्म लुकएर राखेका छन,उनी हरु लाई पनि अब कार्वाही गरिनु पर्छ,किनकि अपराधी को संरक्षण गर्ने पनि अपराधी नै ठहर्छ, जनप्रतिनिधि हरु ले एस्को जवाफ दिनै पर्छ,प्रहरी प्रशासन लाई फितलो पार्ने काम को बाट भै रहेको छ,यहाँ राजनीति दवाब मा पारेर न्याय को गला घोटिदै छ,न्याय दिन सकिँदैन भने कुर्सी छोडनु होस् हामी आउछौ ,परदेश बाट ,तपाई हरु खाडी मुलुक को भिसा लगाउनुहोस,अनि थाहा हुन्छ,परिवार असुरक्षित हुदा के हुन्छ भनेर !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्