दमक, चैत ११ । आफ्नो संस्थाको ७ औ बार्षिक साधारणसभामा सल्लाहकार सदस्यबाट नै आफूमाथि अभद्र व्यवहार भएको कमल ३ स्थित समावेशी महिला सशक्तीकरण संस्थाकी आजीवन सदस्य सरस्वती सेडाईले आरोप लगाएकी छन् ।

तीन दिन संस्थाको चुनावी साधारणसभामा बोल्ने क्रममा संस्थाका सल्लाहकार छत्रहाङ फागोसहित विरेन्द्र अधिकारी ,ममता श्रेष्ठ गुरुङलगायतले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । शुक्रवार केर्खामा पत्रकार सम्मेलन गरी कांग्रेस जिल्ला सदस्य समेत रहेकी नेतृ सेडाईले संस्थाको आर्थिक प्रतिवेदनउपर जिज्ञासा राख्दा आफूमाथि आक्रमणको प्रयास भएको सुनाईन् । साधारणसभाको उद्घाटन सत्रमा अतिथि रहेकी सेडाईले कोषाध्यक्षको बिना लेखा परीक्षणको प्रस्तुत प्रतिवेदनमाथि जिज्ञासा राखेकी थिइन् ।
आर्थिक बिषयमा संस्थाको प्रतिवेदन निष्पक्ष, पारदर्शी हुनुपर्ने आफ्नो अडानलाई जवर्जस्त बहुमतको आडमा पेलेर लैजाने उद्देश्यका साथ आफूमाथि आक्रमणको प्रयास भएको उनले बताईन् । उनले भनिन् ,–‘महिलाको कार्यक्रममा केवल निम्ता गरिएका पाहुनाले यसरी आक्रमणको प्रयास गरिनु आपत्तिजनक छ, न्यायका लागि सम्बन्धित निकायसम्म जानेछु ।’
महिला अधिकारको पक्षमा वकालत गर्दैआएको संस्थाको कार्यक्रममा नै त्यसै संस्थाकी अगुवा महिलामाथिको ज्यादती घोर आपत्तिजनक भएको संस्थाकी मनमाया थापाले बताईन् ।
२०७१ सालमा दर्ता भएको उक्त संस्थाभित्र राजनीतिकरण भएको भन्दै नेपाली कांग्रेस निकटका सदस्य, आजीवन सदस्यहरुले संस्थाबाट अलग्गिएको घोषणा गरेका छन् । साधारणसभा एकलौटी ढंगबाट भएको, संस्थाको विधानविपरीत समिति चयन भएको, आर्थिक हरहिसाव चुस्तदुरुस्त नभएको भन्दै नेतृ सेडाईसहित १४ जना सदस्यले उक्त संस्थाबाट अलग भएको उल्लेख गरेका छन् ।