बिर्तामोड, चैत ११ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको टीमलाई पटक पटक बधाई तथा धन्यवाद दिइरहे ।

दोस्रो पटक देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्न आएका मन्त्री चौधरीले संस्थाका अध्यक्ष जलकुमार गुरुङ र उनको सिंगो टीमको बारेमा खुलेर प्रशंसा गरेका हुन् । यो संस्था आफैमा नमूना मात्र नभएर शिक्षाप्रद र प्रेरणाको रुपमा रहेको उनको भनाई थियो ।

आम नेपालीलाई शुद्ध खानेपानी र सरसफाई मौलिक हकको रुपमा संविधानले व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री चौधरीले राज्यले गर्नुपर्ने काम बिर्तामोड खानेपानी संस्थाले गरेर देखाएको बताए । उनले गत वर्षको बजेटमा बिर्तामोड खानेपानीलाई कुनै पनि योजना दिन नसकेपनि आउँदो कार्ययोजनामा चाहेजति बजेट दिने प्रतिबद्धता जनाए । ‘ तपाईहरु माग गर्नुहोस् ,माग भएर आउने बजेट दिन म तयार छु’उनले भने । बिर्तामोड खानेपानी सन् २०१८ र यस वर्ष देशकै उत्कृष्ट घोषित भएको हो । उनले खानेपानी योजनामा १० देखि ३० प्रतिशत जनश्रमदान गर्ने परिपाटी आफूले खारेज गर्न लागेको जानकारी दिए । मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्दै जाने चुनौतीका कारण मूल फुटाउने , मूल संरक्षण गर्ने , तराईमा तराई मधेश स्यालो ट्युवेलजस्ता कार्यक्रम सरकारले अगाडि सारेको जानकारी दिए ।

मन्त्री चौधरीले उद्घाटन गरेको बिर्तामोड खानेपानी संस्थाको भवन डेढ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । संस्थाको आन्तरिक स्रोतबाट सो भवन निर्माण गरिएको संस्थाका सचिव मेघराज बाँस्तोलाले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा उत्कृष्ट ग्राहकहरु बिर्तामोड ५ का जयबहादुर पौडेल , वडा नं ३ की रेखादेवी शिवाकोटी , समाजसेवी डा. जयेन्द्र उदास , उत्कृष्ट कर्मचारी कृष्णभक्त कट्टेललाई सम्मान गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले पनि बोलेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , पूर्व सांसद डिल्लीप्रसाद सिटौला , राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबेलगायतको उपस्थिति रहेको थियो । संस्थाकी कोषाध्यक्ष शारदा ढकालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव बाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्