झापा, चैत १२ । झापाको हल्दीबारी गाउँपालिका–१ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ बर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– १० निवासी ५० वर्षीय शिक्षक श्रीप्रसाद शिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । ती छात्रालाई शुक्रवार दिउँसो विद्यालयभित्रै शिक्षक शिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार विद्यालयमा परीक्षा परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक शिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेका थिए ।
यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन् । आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए ।
उनीहरूले यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । आक्रोशित भीडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन् ।
यता घटनालगत्तै प्रहरी चौकी गोलधाप र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना बुझेपछि प्रहरीले शिक्षक शिवाकोटीलाई शुक्रवार बेलुका घरबाटै पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
यसैबीच विभिन्न राजनीतिक दल तथा तिनका भातृसंगठनले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्तिमार्फत कानुनी कारवाहीको माग गरेका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले घटनाको छानविन तथा दोषीलाई कारवाहीको जोडदार माग गरेको छ ।
काँग्रेस सम्वद्ध नेपाल विद्यार्थीले संघले पनि घटनाको विरोध गर्दै कारवाहीको माग गरेको छ ।त्यस्तै, उज्यालो गोलधाप बाल क्लब हल्दिबारीले पनि विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद प्रकट गर्दै कारवाहीको माग गरेको छ ।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दोषीमाथि कारवाहीको माग गरेको छ ।