बिर्तामोड , चैत १३ । निजिकिदै गरेको स्थानीय तहको निर्वाचनको झल्को दिनेगरी बिर्तामोड ५ को देवी माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन लागेको छ ।

सदस्यका उम्मेद्वार विक र राजवंशी

चुनावी प्रतिष्पर्धामा दुईवटा प्यानल उत्रिएका छन् । एउटा सदस्य पदका लागि नेकपा एकीकृत समाजवादी ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एकातिर छन् भने अर्कोतिर राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले छन् । चारवटा सदस्य पदमध्ये तीनवटा सर्वसम्मत भइसकेको अबस्थामा एउटा सदस्य पदका लागि ती दुई गठबन्धनले चुनावी भिडन्त गर्न लागेका हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले सदस्यमा रतन राजवंशीलाई उठाएको छ भने विपक्षीका तर्फबाट राप्रपाले सोही पदमा मेदनी विकलाई उम्मेद्वारी दिन लगाएको छ । राजवंशीले भाले र विकले माछा चुनाव चिन्ह पाएका छन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट मदनकुमार नेम्बाङ, माओवादी केन्द्रका तर्फबाट अनिमा राजवंशी र नेकपा एमालेका तर्फबाट दमयन्ता खतिवडा सदस्य पदमा सर्वसम्मत भइसकेका छन् । यही चैत १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन तोकिएको छ । आफूहरुले बाँकी एउटा पदमा पनि सर्वसम्मत गराउने प्रयास गरिरहेको विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । सर्वसम्मत नभए तोकिएको मितिमा निर्वाचन हुने उनले जनाइन् ।

चारजना सदस्य निर्वाचित भएपछि उनीहरु मध्येबाट अध्यक्ष चयन गरिने छ । देवी माविको निर्वाचनलाई सत्तारुढ गठबन्धन र विपक्षीले आउँदो स्थानीय तहको निर्वाचनसंग तुलना गरेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्वाचनको परिणामले वडाको संभावित परिणाम अनुमान गर्न सकिने एक एमाले कार्यकर्ताले बताए । यसैबीच विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा उमेशकुमार शाहु सर्वसम्मतबाट चयन भएका छन् । विद्यालयमा करिव २८ सय अभिभावक रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्