बिर्तामोड , चैत १४ । नेपाल बैंक लिमिटेडको बिर्तामोड शाखा आफ्नै भवनमा सरेको छ ।

दुई करोड ८८ लाखमा नवनिर्मित सुविधासम्पन्न भवनमा बैंक हिजोदेखि सरेको हो । हिजो एक समारोहका बीच बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र नेपाल बैंक लिमिटेडका १ नं प्रदेश प्रमुख सूर्यप्रकाश भट्टले संयुक्तरुपमा कार्यालय भवन उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले आफूले नेपाल बैंक लिमिटेडमा १ लाख ५६ हजार ऋण खाएर शुरु गरेको व्यवसायबाट अहिले २५ करोड व्यालेन्ससीट पुगेको अनुभव सुनाए । बैंकका प्रदेश प्रमुख भट्टले ग्राहकहरुको बढ्दो चापलाई मध्यनजर गरी बिर्तामोडमै अर्को शाखा खोल्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले हिजोको पुरानो नेपाल बैंक अहिले आधुनिक प्रविधिमैत्री बनिसकेको जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्योगी व्यवसायीले सस्तो व्याजमा कर्जा पाउने नेपाल बैंक नै भएको बताए । ग्राहकका तर्फबाट बोल्दै राजेन्द्र थापाले ५० वर्षअघि आफ्ना बुवाको हात समातेर नेपाल बैंक आएको अनुभव सुनाउँदै अहिले पनि सो बैंकप्रति ग्राहकहरुको उत्तिकै बिश्वास रहेको धारणा राखे ।

बैंकका शाखा प्रबन्धक यामनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कर्मचारी मोहन ढकालले पनि बोलेका थिए । आधुनिक सुविधा भएको ग्राहकमैत्री , अपाङ्गमैत्री भवन निर्माण गरिएको शाखा प्रबन्धक दाहालले बताए । उनले लकरसहित सबै खालको वित्तीय सुविधा बैंकमा उपलव्ध रहेको जानकारी दिए । बैंकको भवन जीर्ण भइसकेपछि २०७१ सालमा नयाँ भवन निर्माण गर्नका लागि बैंक भाडाको घरमा संचालन हुँदै आएको थियो । आफ्नै ६ कठ्ठा जग्गामा २ करोड ८८ लाखको लागतमा सो भवन बनाइएको शाखा प्रबन्धक दाहालले बताए । सो बैंकमा १७ हजार बचतकर्ता र २ हजार ऋणी गरी १९ हजार ग्राहक रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्