बिर्तामोड , चैत १४ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) झापाको अध्यक्षमा पुनः सुरेशबहादुर पौडेल चयन भएका छन् ।

सोमवार बिर्तामोडमा भएको हिसान झापाको पाँचौ जिल्ला अधिवेशनबाट पौडेल पुनः अध्यक्षमा चुनिएका हुन् । त्यस्तै जिल्ला समितिको उपाध्यक्ष्मा गौतम शर्मा शिवाकोटी,सचिव टेकनाथ भण्डारी,सहसचिव देवेन्द्र हुमागाईं र कोषाध्यक्षमा रञ्जित साहा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भाष्कर निरौला, लक्ष्मी उप्रेती, उत्तम खनाल, रामकुमार बुढाथोकी, अग्नि कोइराला र बालगोपाल गौतम रहेका छन् । अधिवेशनलाई हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए ।

त्यसक्रममा उनले नेपालको शिक्षा निजी क्षेत्रले धानेको भन्दै निजी कलेज नहुने हो भने देशको शिक्षा लंगडो हुने दावी गरे । त्यस्तै विद्यालय शिक्षामा पनि निजी विद्यालयकै बढी योगदान रहेको उनले चर्चा गरे । नेपालमा शिक्षामा जति बहस हुनु पथ्र्यो, त्यति बहस नभएको उनको भनाई थियो । कार्यक्रममा हिसानका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराईले हिसान र प्याव्सनको एउटै उद्धेश्य भएकाले दुवै संगठनले तालमेल गरेर अघि बढ्नु पर्ने खाँचो औल्याए । ‘ शिक्षक र प्राध्यापकहरुको संगठन हिसान र प्याव्सन होइन ’ उनले भने ,‘ दुवै संगठन संचालकहरुको भएकाले उद्धेश्य एउटै छ ।’

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले निजी क्षेत्रका शिक्षालयहरुलाई सौतेनी व्यवहार गरेको गुनासो गरेका थिए । उनीहरुले आफै शिक्षा प्रदान गर्नुपर्र्ने जिम्मेवारी निर्वाह गर्न नसकिरहेको सरकारले गलत शिक्षा नीति बनाएर निजी शिक्षालयहरुलाई बन्द गराउने प्रयास गरिरहेको आरोप लगाए । कार्यक्रममा प्याव्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे , जिल्ला अध्यक्ष गौरीमान फागो , बिर्तामोड नगरपालिकाका शिक्षा समिति सदस्य गुरुभक्त न्यौपाने, गौरादह क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहाललगायतले बोलेका थिए । जिल्ला अध्यक्ष सुरेशबहादुर पौडेलको अध्यक्षतामा उपाध्यक्ष डा. रुपक खनालले शव्दले स्वागत गरेको कार्यक्रमको संचालन सचिव गौतम शर्मा शिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्