झापा , चैत १५ । मोरङको लेटाङमा एकजना महिला प्रहरीको हत्या आरोपमा पक्राउ परेका २० जना विरुद्ध मोरङ प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पहिलो चरणमा ९ र पछि थप ११ जना गरी प्रहरीले मोरङ अदालतमा २० जनालाई ‘कर्तव्य ज्यान मुद्दा’ म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ-६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ-५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् । यस्तै मिक्लाजुङ गाउँपालिका-२ घर भई लेटाङ-५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ-५ का सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ-६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’



