बिर्तामोड, चैत १५ । स्थानीय तहको घोषित निर्वाचन आउन अब डेढ महिना मात्र बाँकी छ । बैशाख ३० गतेका लागि घोषित निर्वाचनका लागि दलहरुका तर्फबाट उम्मेद्वारको टुंगो लागिसकेको छैन । तर, उम्मेद्वार बन्न चाहने आकांक्षीहरु आकांक्षा व्यक्त गर्न थालिसकेका छन् ।

प्रायगरी धेरै आकांक्षीहरु मेयर , उपमेयर र वडाध्यक्ष पदका लागि मात्र देखिएका छन् । त्यसभन्दा मुनिको पदमा इच्छा राख्ने कमै भेटिएको छ । बिर्तामोड नगरपालिकामा आकांक्षीहरुले टिकटका लागि दौडधुप गरिरहेका छन् । बिर्तामोडमा अघिल्लो निर्वाचनमा मेयर , उपमेयरसहित दुईतिहाइ बहुमत जितेको नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्न चाहने निकै छन् ।

मेयर पदका लागि एमालेमा हाल चारजना दावेदार देखिएका छन् । अहिलेका मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , २ नं वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला र उमानाथ ओली दावेदारको रुपमा देखिएका हुन् । त्यसमध्ये वडाध्यक्ष संग्रौलाले आफूलाई सशक्त दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।

ख्वामितप्रसाद संग्रौला र नरमाया संग्रौलाको एकमात्र सुपुत्रको रुपमा २०२७ बैशाख ११ गते जन्मिएका संग्रौला बामपन्थी परिवारबाट आएका हुन् । उनको घरमै कम्युनिष्टहरुको सेल्टर रहने गरेको थियो । १२ वर्षको उमेरमा २०३६ सालदेखि विद्यार्थी हुँदा नै उनले राजनीति शुरु गरेका थिए । २०४६ सालको आन्दोलनमा सरिक भएका संग्रौला २०४७ सालमा इलाम क्याम्पसमा अध्ययनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मंच इलामको सदस्य भए । त्यसपछि २०४७ सालदेखि झापा क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहँदै २०४८ सालमा पार्टी सदस्यता लिए । त्यस्तै २०५१ सालमा युवा संघ नेपालको क्षेत्र नं ४ को अध्यक्ष, २०५२ सालमा राष्ट्रिय जनसांस्कृतिक मंच झापाको सचिव , २०५४ सालमा पार्टीको चारपाने गाउँ कमिटी सचिव भए । उनी २०५६ सालमा एमालेको चारपाने गाउँ कमिटी सचिव दोहोरिए ।

त्यसपश्चात् लगातार विभिन्न जिम्मेवारी निर्वाह गर्नेक्रममा २०५७ सालमा दुईवटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य ,पार्टीको १० नं. इलाका कमिटी संयोजक , २०५८ सालमा १० नं इलाका कमिटीको सचिव , २०६३ सालमा झापा जिल्ला पार्टी कार्यालयको सहकार्यालय सचिव, २०६४ सालमा पार्टीको सचिवालय सदस्य र कार्यालय सचिव , २०६५ फागुनमा आठौं राष्ट्रिय महाधिवेशनमा २ नं क्षेत्रबाट प्रतिनिधि , २०६८ सालमा चारपाने गाउँ कमिटीको अध्यक्ष , २०७१ सालमा बिर्तामोड नगर कमिटी सचिव र २०७८ सालमा जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य चयन भएका थिए ।

२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका प्रतिमान खड्कालाई पराजित गरी उनी एमालेबाट वडाध्यक्ष निर्वाचित भए । उनले १५७९ मत ल्याउँदा उपविजेता खड्काले १०५९ मत पाएका थिए । हाल वडाध्यक्ष संग्रौला पंचरत्न माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत छन् । उनले आफ्नो ४० वर्ष उमेर सामाजिक र राजनीतिक योगदानमा बिताएका छन् । उनका अनुसार आफ्नो राजनीतिक र सामाजिक योगदानलाई सही मूल्यांकन गर्ने हो भने अघिल्लै पटक आफूले मेयरको टिकट पाउनुपथ्र्यो । प्राविधिक कारणले वडामै रहेर पाँच वर्ष वडाबासीसंग बिताएको अनुभव र समाजसेवा गरेको नाताले यसपटक नगरको दशवटै वडाको अभिभावक र सेवक बन्ने इच्छा रहेको उनले बताएका छन् । जनताको सही नेतृत्व , सही न्याय र अभिभावकत्वको लागि आफूलाई सक्षम ठानेका संग्रौलाले सुशासन , पारदर्शी र विभेदपूर्ण ढंगले जनताको माझमा अबिश्वास , रुढीवादलाई पन्छाउँदै असल समाज निर्माण गर्ने र मानवीय चेतनासंगै जनताको घरघरमा सबै प्रकारका विकास गर्ने र राज्यको नीति , संविधान र कानूनलाई पूर्णरुपमा कार्यान्वयन गर्नेगरी काम गर्ने योजना सुनाए ।

उनले नगरभित्र रहेका संघसंस्था, सहकारी , शिक्षित , प्रवुद्ध वर्ग ,व्यवसायी , उद्योगी , मजदुर , किसान , पत्रकार सबैको भावना बुझेर काम गर्दै आएको उल्लेख गर्दै अबका दिनमा अझ धेरै गर्ने सोच रहेको बताए । उनले आफ्नो इच्छा भएपनि पार्टीको नीति र निर्देशन सर्वोपरि हुने बताए । ‘सबै साथीहरुसंग कुराकानी भइरहेको छ , सम्पर्कमै छु ’उनले भने ,‘ निर्वाचनमा पार्टीको निर्देशन र जनताको अभिमत महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्