झापा , चैत १६ । आगामी स्थानीय तहको निर्वाचनका लागि माई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका तर्फबाट टुपेन्द्र एक्तेनले उम्मेद्वारी दिने भएका छन् ।

२०४८ सालदेखि राजनीतिक र सामाजिक जीवन बिताउँदै आएका उनले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । माई नगरपालिकाको विकृति , विसंगति , भ्रष्टाचार , अन्याय , अत्याचारविरुद्ध मेयर पदमा आफ्नो उम्मेद्वारी रहने उनले बताए ।

माई नगरपालिकामै बसेर राजनीति गर्ने सोच बनाएका एक्तेनले राजनीतिक खिचातानी , नातावाद , कृपावादले माई नगरपालिका नबन्ने भन्दै त्यसलाई चिर्ने संकल्प र अठोटका साथ आफ्नो उम्मेद्वारी रहने जानकारी दिए । ‘पार्टीको लक्ष्य , दर्शन र सिद्धान्त बुझेको छु ’उनले भने ,‘यही ठाउँमा जन्मेको , हुर्केकोले उत्साहित छु ।’ जनता समाजवादी पार्टीको माई नगर समितिले पार्टीका नगर अध्यक्ष एक्तेनलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यसैगरी १० वटै वडामा उम्मेद्वार उठाउने निर्णय भएको एक्तेनले बताए । सत्तासीन दलहरुले चुनावी गठबन्धन गर्ने गरेको निर्णयका बारेमा उनले आबश्यकता हेरेर माई नगरपालिकामा गठबन्धन गर्न सकिने जानकारी दिए ।

मंगोल नेशनल अर्गनाइजेशनबाट राजनीति शुरु गरेका एक्तेन यसअघि लिम्बुवान पार्टीको केन्द्रीय सदस्य रहेका थिए । लिम्बुवान पार्टी तत्कालीन संघीय समाजवादी पार्टीमा समाहित हुने क्रममा उनी संघीय समाजवादी हुँदै जनता समाजवादी पार्टीमा आवद्ध भएका हुन् । माई नगरपालिकामा जनता समाजवादी पार्टीको ९ सय कार्यकर्ता रहेको जनाइएको छ । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी माई नगरपालिकामा १३ सय मत ल्याई चौथो भएको थियो । मेयरमा विजेता बनेको एमालेले ६ हजार ४८ , कांग्रेसले ४ हजार ४ सय र माओवादीले १ हजार ३ सय मत ल्याएका थिए । पार्टी सदस्यहरुलाई मादलको संज्ञा दिँदै उनले दर्शन र लक्ष्यलाई जनताको घरघरमा पु¥याउन सक्दा निर्वाचन जित्न गाह्रो नपर्ने धारणा राखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्