बिर्तामोड , चैत १६ । युवाहरुलाई उद्यमशिलताका बारेमा ज्ञान दिन बिर्तामोडमा तीनदिवसीय ऊर्जा द– ट्रेनिङ फर इन्टरपेनरशीपको आयोजना हुने भएको छ ।

ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रा.लिले यही चैत २०, २१ र २२ गते बिर्तामोडको चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा सो सेमिनार आयोजना गर्ने भएको हो । अहिले युवाहरुको चासो उद्यमशिलतातर्फ बढ्दै गएको र त्यस कुरालाई मध्यनजर गर्दै अझ त्यो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्न सेमिनार आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । तालिमलाई सहजीकरण गर्न सफल व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेशनल स्पीकर रोहित मल्ल, सोसियल इन्टरपेनर प्रकृती मैनाली आउने ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक प्रनित पुडासैनीले बताए । उनले युवामाझ लोकप्रिय एवम् चचित ¥यापर तथा काठमाण्डौबाट मेयरको उम्मदवारी घोषणा गरेका बालेन शाहसँगको विशेष कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति रहने जानकारी दिए । उनका अनुसार सेमिनारमा झापा तथा आसपासका जिल्लाका ५ सय युवालाई सहभागी गराउने लक्ष्य राखिएको छ । सेमिनारको अनुमानित खर्च १० लाख राखिएको छ ।

प्रदेश नम्बर १ लाई आफ्नो कार्यक्षेत्र बनाई बिर्तामोडबाट विगत ६ वर्षदेखि ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रा.लिले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । इभेन्ट म्यानेजमेन्टबाट आफ्नो काम शुरु गरेको कम्पनीको मातहतमा हाल दुई वटा स्कुल, १ रेष्टुरण्ट, टिफिन बक्स फुड डेलिभेरी अनलाइन प्लाटफर्म, अनलाइन टिभी, प्रोडक्सन हाउस, बटुवा इ–कमर्श, कन्याममा चाँडै नै सञ्चालनमा आउन लागेको डोको– द रिसोर्ट गरि जम्मा ११ विभिन्न प्रकृतिका व्यवसाय सञ्चालनमा छन् । यस कम्पनीलाई चाँडै नैे ग्रुप अफ कम्पनीको मातहतबाट सञ्चालनमा ल्याउने पुडासैनीले बताए ।

उनले यो अवधिमा युवा वर्गलाई विभिन्न तालिम, सेमिनारको माध्यमबाट प्रोत्साहन गरिनैरहेको जानकारी दिँदै रोजगारीको खोजीमा विदेश पलायन हुने युवालाई स्वदेशमैं रोजगारी दिएर होस् या सुझाव दिएर नेपालमै गर्न खोजे धेरै गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको धारणा राखे । हाल सो कम्पनीमा ६० जना युवाले प्रत्यक्ष रोजगारी पाईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्