झापा, चैत १८ । सांघातिक हमलाका दोषीलाई पक्राउ गर्ने तत्परता नदेखाएको झिलझिले प्रहरी दवावमा परेको छ ।

पीडितहरुले हिजो दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर दवाव दिएपछि अन्ततः प्रहरीले दुई दिनभित्र पक्राउ गर्ने ग्यारेन्टी गरेको छ । त्यसपछि अवरुद्ध पूर्व– पश्चिम राजमार्ग सुचारु भएको हो । सांघातिक हमलाका दोषीलाई पक्राउ गरेर कार्वाही नगरी त्यसै छोडिदिएको विषयले उग्ररूप लिएपछि बिहीबार दिउँसो १२ देखि २ बजेसम्म पीडितले झिलझिलेमा पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका थिए । इलाका प्रहरी कार्यालय झिलझिले अगाडि प्रहरीबिरूद्ध नाराबाजी गर्दै पीडित, उनीहरूका आफन्त र सयौं स्थानीयले सडक अवरूद्ध गरेका थिए ।

दिउँसो साढे १२ बजेदेखि अवरूद्ध भएको सडक २ बजे खुलेको हो । दुई दिनभित्र पीडकलाई पक्राउ गर्न प्रहरीले ग्यारेन्टी गरेपछि सडक खुलेको हो । पक्राउ परेका आक्रमणकारीलाई प्रहरीले बिना शर्त छोडेर कारबाही नगरेको आरोप पीडितको छ । पीडितका अनुसार इलाका प्रहरी कार्यालयले शुरूमा जाहेरी लिन समेत मानेको थिएन । ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगरेर आफूहरूलाई मानसिक पीडा दिएको पीडित पक्षको आरोप छ ।

गएको फागुन २७ गते बिहान दिव्या बाँस्कोटा, जानुका ढकाल, भेषराज ढकाल र तेजस्विनी बाँसकोटामाथि सांघातिक हमला भएको थियो । हमलाबाट घाइते दिव्या बाँस्कोटा, जानुका ढकाल र भेषराज ढकाल अस्पताल भर्ना भएका थिए । बिर्तामोडको बीएण्डसी अस्पतालमा उनीहरूको उपचार भएको थियो । पीडितका अनुसार दुई लाख ६९ हजार रुपैयाँ उपचारमा खर्च भएको छ । सांघातिक हमला भएपछि प्रहरीले हमला गर्नेहरूलाई पक्राउ गरेर लगे पनि सोही दिन रिहा गरेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले लिन नमानेको आरोप पीडितको छ । निकै दबाब दिएपछि एकदिन ढिला गरेर प्रहरीले उजुरी लिएको पीडित तेजस्वीले बताइन् ।

सांघातिक आक्रमण गर्ने युवराज खरेल, कुशल खरेल, अजय बाँस्कोटा, कल्पना खरेल र चैतकुमारी खरेलमाथि ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दिएको पीडित तेजस्विनी बाँस्कोटाले बताइन् । जाहेरी प्रहरीले बुझ्दा प्रहरी नियन्त्रणमा रहेका एक जना र अन्य सबै फरार भइसकेको उनले बताइन् । प्रहरीले फागुन २९ गते जाहेरी दर्ता गरेको थियो । जाहेरीउपर अझैसम्म कारबाही नभएको पीडितको गुनासो छ । राजनीतिक संरक्षणका कारण गाउँमै रहेका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको उनले गुनासो गरिन्। आफूहरूलाई प्रहरी प्रशासनदेखि जनप्रतिनिधिहरूले समेत साथ नदिएको उनको गुनासो छ ।

बाटोको विषयमा विवाद भएको थियो। त्यही विवादका क्रममा तेजस्विनीको परिवारमाथि हमला भएको थियो। घटना भएको दिन पक्राउ पर्दा आरोपितहरूलाई वडाध्यक्ष सुवास राईले जमानीमा रिहा गराएका थिए । तर, उनले ती आरोपितहरूलाई प्रहरीको जिम्मा लगाएका छैनन् । आफूले दुई जनालाई जमानीमा रिहा गराएको स्वीकार गर्दै वडाध्यक्ष राईले आरोपितहरूलाई आफूले इलाका प्रहरी कार्यालय जान भनेको बताए । उनले ती आरोपितहरूसँग आफ्नो सम्पर्क भइरहेको बताउँदै केही दिनभित्र प्रहरीकहाँ उपस्थित हुने जानकारी दिए । तर, झिलझिले प्रहरीका प्रमुख ध्रुवनारायण प्रधानले भने ती आरोपित बेपत्ता रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्