झापा, चैत १८ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही योजना अनुसार बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको बिर्तामोड शाखामा आयोजित कार्यक्रमका बीच सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । बैंकका १ नं प्रदेश प्रमुख मनोज विष्ट र बिर्तामोड शाखाका प्रवन्धक हरि ओझाले संस्थाका अध्यक्ष सुनित जैसवाल , सचिव निरज चौधरी , कोषाध्यक्ष मनोज गोयल , चार्टर प्रेसिडेन्ट विवेक गुप्ता , पास्ट प्रेसिडेन्ट नितेश शर्मा ,प्रकाश चौधरीलगायतलाई चेक हस्तान्तरण गरेका थिए ।
सो सामाजिक संस्थाले बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सघाउ पुर्याउँदै आएको छ । ग्रामीण क्षेत्रको सो विद्यालयमा ७८ जना विद्यार्थी अध्ययनरत छन् । यसअघि बैंकको बिर्तामोड शाखाले बिर्तामोड ४ स्थित हाम्रो साझा घरका बृद्धबृद्धाहरुलाई एक छाकको भोजन गराउनुका साथै कुर्सी र पंखा वितरण गरेको थियो । आफ्नो बसोबासको क्षेत्र भएकाले सामाजिक कार्यहरुलाई बढावा दिइएको बिर्तामोड शाखाका प्रबन्धक ओझाले बताए ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको उनले बताए ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।